काठमाण्डौ । स्वेडा लघुवित्त प्राप्ति प्रक्रियालाई टुंगो लगाउन मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारणसभा डोकेको छ। 

संस्थाको सञ्चालक समितिको बैठकले आगामी चैत १७ गते सोमबार काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा विशेष साधारणसभा डोकेको हो। सभामा स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा भए गरेका सम्पूर्ण प्रक्रियालाई अनुमोदन गरिनेछ। 

यो प्रक्रिया प्रयोजनका लागि मूल्यांकनकर्ताबाट चलअचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्ति प्रतिवेदनका आधार स्वेडा लघुवित्तको समायोजित सेयरमूल्य सभाले अनुमोदन गर्नेछ। त्यस्तै स्वेडा लघुवित्त प्राप्ति सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति तथा दिायित्वको मूल्यांक प्रतिवेदन तथा प्राप्ति सम्बनधमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सोसम्बन्धमा भएका कामकारबाही तथा खर्च पनि सभाले अनुमोदन गर्नेछ। 

प्राप्तिपछि मिर्मिरे लघुवित्तको पुँजी संरचनामा हुने परिवर्तनबमोजिम पुँजी संरचना समायोजन गर्न सेयर जारी गर्ने तथा सोपश्चात कायम हुने चुक्ता पुाँजीको आधारमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पारित हुनेछ। 

प्राप्ति प्रक्रिया पूरा भएपछि मिर्मिरेलाई राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा स्तरोन्नति गर्ने प्रस्ताव पनि पनि पारित हुनेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि मिर्मिरे लघुवित्तले चैत ७ गतेदेखि चैत १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसैबीच मिर्मिरे लघुवित्तमा विलय हुन लागेको स्वेडा लघुवित्तले पनि आउँदो चैत १७ गते नै आफ्नो दोस्रो वार्षिक साधारणसभा धादिङको धार्केस्थित केन्द्रीय कार्यालयमा गर्ने भएको छ। 

सभामा मिर्मिरे लघुवित्तमा गाभिने विषयमा भए गरेका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरिनेछ।