काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुलाई हकप्रद सेयर बिक्रीमा निकै ठूलो सकस परिरहेको छ । पूँजीवृद्धिको नाममा नियामकहरुले जथाभावी रुपमा कम्पनीहरुलाई हकप्रद सेयर निश्कासनको अनुमति दिएपछि यसले बजारमा नकारात्मक प्रभाव पारेको छ । यहीकारण कुनै बेला सूचिकृत कम्पनीको हकप्रद आउने समाचारले मात्रै पनि बढ्ने बजार वा सम्बन्धित कम्पनीको सूचकमा अहिले त्यस्तो खबरले उल्टो प्रभाव पार्न थालेको छ। 

हकप्रदप्रतिको आकर्षण लगभग सकिएकै कारण कतिपय कम्पनीलाई पूँजी वृद्धि गर्न समेत सकस परिरहेको छ । यसैको पछिल्लो उदाहरण बनेको छ बेस्ट फाइनान्समा गाभिइसकेको सिनर्जी फाइनान्स । 

यो फाइनान्स कम्पनीले एक्वीजिसनअघि निश्कासन गरेको २५ प्रतिशत हकप्रद खरीदका लागि सेयरधनीले खासै चासो नदेखाएपछि कम्पनीले हकप्रदमा आवेदन दिने समय बढाएको छ । 

कम्पनीले काठमाण्डौभित्रका सेयरधनीले भदौ १२ गतेभित्र र काठमाण्डौबाहिरकाले भदौ ११ गतेभित्र आवेदन दिइसक्नुपर्ने गरी नयाँ आवेदन सीमा तोकेको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निश्कासन गरेको हो । 

प्रभू क्यापिटलले हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गरिरहेको छ।

कम्पनीले हकप्रद प्रयोजनका लागि २०७५ जेठ ३० गतेलाई बुक क्लोज मिति तोकेको थियो । यसको अर्थ जेठ २९ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

तर, बेस्ट फाइनान्ससँग मर्जरका कारण यो कम्पनीको दोश्रो बजारमा असोज २६ गतेदेखि सेयर कारोबार भएको छैन । यो हिसाबले असोज २५ गतेसम्म यो कम्पनीको सेयर रहेका सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

२५ प्रतिशत हकप्रदको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी ५९ करोड ३० लाखको उचाईमा पुग्नेछ । हाल ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । 

यो कम्पनीको एक्वीजिसन १ बराबर १ को सेयर स्वाप अनुपातमा सम्पन्न भइसकेको छ । मर्जपछि बनेको बेस्ट फाइनान्सको चुक्तापूँजी ८८ करोड माथि पुग्नेछ । 

सिनर्जी फाइनान्सलाई बेस्ट फाइनान्सले एक्वीजिसन गरिसकेको छ र यी दुई संस्था गाभिएर बनेको बेस्ट फाइनान्सले अघिल्लो सातादेखि एकीकृत कारोबार समेत थालिसकेको छ ।