काठमाण्डौ । साधारणसभाबाटै हकप्रदको प्रस्ताव पारित गरेर पछि अनेक बाहानाबाजीमा रद्ध गर्ने र लगानीकर्तालाई ठगी गर्ने क्रम अझै रोकिएको छैन । पछिल्लो समय एकजिल्ले सर्लाहीस्थित साहारा विकास बैंकले समेत हकप्रदको लोभ देखाएर आफ्नो सेयर मूल्य बढाई एकाएक साधारणसभाबाट समेत पारित भइसकेको २५० प्रतिशत हकप्रद रद्धका लागि विशेष साधारणसभा आह्वान गरेको छ । यसले फेरि एकपटक हकप्रदको नाममा लगानीकर्ता ठगिने अवस्था सिर्जना भएको छ । 

साहारा विकास बैंकले गत पुस २९ गतेको छैठौं वार्षिक साधारणसभाबाट चुक्तापूँजीको २५० प्रतिशतको दरले हकप्रद सेयर बिक्रीको प्रस्ताव पारित गरेको थियो । तर, केही समयअघि देवः विकास बैंकसँग अक्वायरको सम्झौता गरेको यो बैंकले पारित भइसकेको २५० प्रतिशत हकप्रद रद्धको मुख्य एजेण्डासहित आगामी असार ३१ गते विशेष साधारणसभा बोलाएको छ ।

‘धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका–२०७४’ ले एकपटक साधारणसभाले हकप्रद सेयर जारी गर्ने निर्णय गरिसकेपछि पुनः त्यसलाई खारेज गर्न नमिल्ने कडा व्यवस्था गरेको छ । साहारा विकास बैंकले पनि यो व्यवस्थालाई समेत चुनौति दिंदै साधारणसभाबाट पारित हकप्रद खारेजीका लागि विशेष साधारणसभा बोलाएको देखिएको छ ।  

साहारा र सहयोगी विकास बैंकबीचको मर्जर गत पुसमा अचानक रद्ध भएपछि राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउन साहाराले हकप्रदको बाटो रोजेको थियो । केन्द्रीय बैंकले एकजिल्ले विकास बैंकले ०७४ असार मसान्तसम्म ५० करोड चुक्तापूँजी कायम गर्नुपर्ने कडा व्यवस्था गरेको छ । यो बैंकको चुक्तापूँजी ६ करोड ७२ लाख मात्र थियो । 

यसैबीच, साहारा विकास बैंकको फट्याईं र हकप्रद खारेजीका लागि आह्वान भएको विशेष साधारणसभाविरुद्ध केही लगानीकर्ताले धितोपत्र बोर्डमा उजुरी दिएका छन् । उनीहरुले हकप्रदको प्रस्ताव पारित भएपछि साहारा विकास बैंकको सेयर मूल्य बढेको, तर अहिले खारेजीको कुरा आउँदा मूल्य घटेको भन्दै यसकारण लगानीकर्ताले व्यहोर्नुपरेको घाटाको उचित क्षतिपूर्ति समेत भराउनुुपर्ने माग गर्दै उजुरी दिएका छन् । उजुरीको बिषयमा आवश्यक अध्ययन गरी उचित कार्यबाही अगाडि बढाइने धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए ।