काठमाण्डौ । निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनी, नेपाल फाईनान्स लिमिटेडले पुनः १ः१.७५ को दरले हकप्रद सेयर जारी गर्ने भएको छ । 

नेपाल राष्ट्रबैंकले कतिपय वित्तीय संस्थाहरुलाई तोकिएको चुक्तापूँजी पुर्याउन मर्जर वा एक्वीजिसनलाई प्रोत्साहन गर्ने नीति लिइरहेको बेला यो फाइनान्सले भने एकपछि अर्को गरी ठूलो परिमाणमा हकप्रद निश्कासन गरी न्यूनतम पूँजी जुटाउने विकल्प रोजेको हो । 

संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ । यसअन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयरबापतको रकम कल्स इन एड्भान्समा जम्मा भइसकेको छ ।

यो प्रक्रिया लगभग सकिइँदै गर्दा सेयरधनीले पनि हकप्रद खरीद गर्नुपर्ने बाध्यता देखिएको छ । शनिवार काठमाण्डौमा सम्पन्न नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारणसभाले पुनः १ः१.७५  हकप्रद सेयर जारीको निर्णय गरेको हो । पुनः हकप्रद जारी गरी कम्पनीले आफ्नो चुक्तापूँजी ८४ हजार २ लाख ६५ हजार ५९४ पुर्याउने नीति लिएको देखिन्छ । 

सो साधारणसभाले संंस्थाको अधिकृत पूँजी १ अर्ब र जारी तथा चुक्तापूँजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड तोकेको छ । 

साधारणसभाले हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केही अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्बन गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाका सेवालाई आधुनिकीकरण गर्ने प्रस्ताव समेत पारित भएको छ । 

अबका दिनहरुमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धिगर्दै लैजाने योजना रहेको छ । यस संस्थाको व्यावसायिक सक्षमता अभिवृद्धि गर्नका लागि आधुनिक सूचना प्रविधिलाई अवलम्वन गर्दै लैजाने र संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठीको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिदै लगिएको छ । साधारणसभापछि कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

साधारणसभा संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौंमा संचालकहरु प्राध्यापक हिरेन्द्रमान प्रधान(अध्यक्ष), अन्य संचालकहरु चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्जन तथा स्वतन्त्र संचालक आनन्दकृष्ण ताम्राकार लगायत आधारभूत शेयरधनीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।