काठमाण्डौ । बजार संचालक नेपाल स्टक एक्सचेञ्ज, नियामक धितोपत्र बोर्ड र सिडिएससीले हकप्रद र बोनस सेयरमा वेटेज एभरेजको आधारमा पूँजीगत लाभकर लगाउन सकिने सुझाव दिएका छन् । 

यी तीनवटै निकायले अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिलाई आफ्नो सुझाव पेश गरेका हुन् । 

हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने भनी आन्तरिक राजश्व विभागले यी तीनवटै निकायलाई सर्कुलर गरेपछि यसले करको भार थोपरेको भन्दै लगानीकर्ता आन्दोलित भएका थिए । उनीहरुले २ दिनसम्म कारोबार ठप्प पारेका थिए । त्यसपछि सो सर्कुलर तत्कालका लागि स्थगित गरिएको थियो र करको विवाद सुल्झाउन सहसचिव खत्रीको संयोजकत्वमा एक अध्ययन समिति बनाइएको थियो । जसलाई १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने समय सीमा दिइएको छ । 

सोही समितिलाई आफ्नो सुझाव पेश गर्दै हकप्रद र बोनस सेयरमा वेटेज एभरेजको आधारमा पूँजीगत लाभकर लगाउन सकिने सुझाइएको हो । 

यो विकल्पलाई तीनवटै निकायले ‘बीचको बाटो’ भनेका छन् । 

नेप्से प्रमुख साउदका अनुसार लगानीकर्ताले जति मूल्यमा शेयर खरिद गरेको छ, त्यसमा हकप्रद र बोनस शेयरको आधार लागत मूल्य जोडी आएको रकमलाई जम्मा शेयर संख्याले भाग गरेपछि आउने फललाई नै ‘वेटेज एण्ड एभरेज प्राइस’ मानिन्छ। यो प्राइसभन्दा बढीमा लगानीकर्ताले सेयर बिक्री गरे लाभकर लगाउने र कममा बिक्री गरे लाभकर नलिने व्यवस्थाका लागि सुझाव दिइएको साउदले प्रष्ट्याए । 

‘यस्तो व्यवस्थाबाट लगानीकर्ताको माग पनि सम्बोधन हुन्छ ।’ साउदले भने । उनका अनुसार सेयर कारोबारमा कर लगाउने संभावनाको बिषयमा छलफल भए पनि त्यो तत्कालै असंभव छ । 

यो व्यवस्थालाई यसरी बुझौं
उदाहरणका लागि २ हजार रुपैयाँ पर्ने एक कित्ता सेयर किन्नु भएको थियो, सो कम्पनीले सतप्रतिशत राइट दियो र सतप्रतिशत नै बोनस दियो । यसको अर्थ राइट सेयरको मूल्य १०० रुपैयाँ र बोनस सेयरको मूल्य समेत १०० रुपैयाँ नै पर्यो । यो हिसाबले हकप्रद र बोनसपछि सो व्यक्तिका लागि ३ कित्ता पर्यो । यसरी सो व्यक्तिको सेयरको मूल्य २००० रुपैयाँमा १०० र १०० थपेर कुल २ हजार २ सय रुपैयाँ भयो । त्यसलाई ३ ले भाग गरेर जति पैसा आउँछ, त्यो नै वेटेज एभरेज कष्ट हो । जस्तै, रु.२२०० लाई ३ ले भाग गर्दा ७३३.३३ रुपैयाँ वेटेज एभरेज कष्ट आयो । यो हिसाबले एक कित्ता सेयरको ७३३.३३ रुपैयाँ पर्यो । त्यो भन्दा बढीमा बेच्यो भने क्यापिटल गेन हुने भयो र कर तिर्नुपर्ने भयो । त्यो भन्दा कममा बेच्यो भने गेन भएन, कर पनि तिर्नुपरेन ।