हङकङ । कोरोना भाइरसको त्रासका बीच भोकै परिने डरले हङकङको एक सुपरमार्केटबाट ६ प्याकेट चामल चोर्ने नेपालीलाई ६ महिनाको जेल सजाय दिइएको छ । 

हङकङको ह्वामपाओस्थित अयोन स्टोरमा गत शुक्रबार चामलको प्याकेट चोर्दै गरेको अवस्थामा राज शर्मा नामका नेपालीलाई सो स्टोरका सुरक्षागार्डले पक्राउ गरेका थिए । 

वेस्ट कोलून कोर्टमा नेपाली राज शर्माले आफूले चामल कोरोना भाइरसले अभाव हुने र खान नपाइने त्रासका बीच चोरेको स्वीकार गरेका साउथ चाइना मर्निङ पोस्टले छापेको समाचारमा जनाइएको छ । तर, अर्को एक बयानमा भने उनले फरक तथ्य पेश गरेका छन् । अर्को बयानमा शर्माले यसरी चामल चोर्ने आइडिया चाहि आफ्नो नभएको बताएका छन् । उनले आफूलाई केही अपरिचित व्यक्तिहरुले पैसाको लोभ देखाएर चामल चोर्न लगाएको समेत आफ्नो बयानमा भनेका छन् । आफूलाई चामल चोरे कोलूनको मन्दिर भएको गल्लीमा आउन भनिएको समेत उनले बताएका समाचारमा उल्लेख छ । 

उनीसँगै ४ प्याकेट चामल चार्ने बंगलादेशी नागरिक ३३ वर्षीय रियाद हुसेन समेत पक्राउ परेका छन् । हुसेनले चाहि सोही स्टोरबाट योसहित चारपटकसम्म चोरी गरेको समेत अनुसन्धानको क्रममा पत्ता लागेको छ। 

चोरीमा संलग्न दुवैजनासँग हङकङमा बस्न पाउने आधिकारिक कागजात समेत नरहेको बताइएको छ । 

चारपटक गरी हुसेनले चाहि १० बोरा चामल र मिल्क पाउडरका ४ वटा क्यान समेत चोरेका भेटिएको छ। 

यी दुईबाट भएका चोरीबाट सो स्टोरले २२९६.८ हङकङ डलर क्षति व्यहोर्नुपरेको बताएको छ। 

हङकङमा चोरी गर्नेलाई १० वर्षसम्मको सजाय दिइने कानूनी व्यवस्था छ ।