आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर नगद बाँड्ने जनाएको छ।

१८ वर्ष उमेर कटेका प्रत्येक स्थायी बासिन्दाले सरकारबाट नगद प्राप्त गर्नेछन्।

प्रहरी तथा सरकारविरोधी प्रदर्शनकारीबीच महिनौँसम्म हिंसात्मक झडप भएपश्चात् हङ्‍कङको अर्थतन्त्र निकै प्रभावित भएको थियो।

अहिले फेरि कोरोनाभाइरस सङ्क्रमणका कारण पनि त्यहाँको अर्थतन्त्रमा प्रभाव परेको छ। त्यहाँ कोरोनाभाइरस सङ्क्रमणका ८१ घटना पुष्टि भइसकेका छन् अनि दुईजनाको मृत्यु भएको छ।

हाल हङ्‍कङको बजेट घाटा सन् २०२१ सम्म झन्डै १८ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ। जुन त्यहाँको कीर्तिमान नै हो।

उक्त पृष्ठभूमिमा वयस्क स्थायी बासिन्दालाई नगद दिएर उपभोक्ता खर्च बढाउने र मानिसहरूको आर्थिक बोझ कम बनाउन सघाउ पुग्ने त्यहाँको सरकारले ठानेको छ।

सो घोषणा बमोजिम १८ वर्ष उमेर कटेका करिब सत्तरी लाख मानिसलाई दश हजार हङ्‍कङ डलरको दरले रकम प्रदान गरिनेछ।

"हङ्‍कङको अर्थतन्त्रले यो वर्ष ठूला चुनौती बेहोरीरहेको छ," हङ्‍कङको आर्थिक मामिलासम्बन्धी उच्च अधिकारी पाउल चानले बुधवार बताए।

"गम्भीर सोचविचारपश्चात् मैले १८ वर्ष वा माथिका स्थायी बासिन्दालाई दश हजार हङ्‍कङ डलर दिने निर्णय गरेको छु ताकि त्यसले स्थानीय उपभोग बढ्नेछ र मानिसहरूको आर्थिक बोझ हलुका हुनेछ," चानले बताए।

नगद वितरणको उपाय अर्थतन्त्रमा हिंसा र भाइरसको प्रभाव न्यून गराउन लगानी गर्न लागिएको १२० अर्ब हङ्‍कङ डलरको राहत कार्यक्रम अन्तर्गत हुनेछ।

साथसाथै अधिकारीहरूले सार्वजनिक आवासको भाडा घटाउने तथा तलब अनि सम्पत्ति करमा छूट पनि दिनेछन्।

यसअघि हङ्‍कङले प्रकोपले प्रत्यक्ष असर पारेका रेस्टुरेन्ट तथा यात्रा व्यवसायलाई पनि नगद वितरणसहित राहत योजना घोषणा गरेको थियो।

पछिल्ला केही सातायता मुख्यभूमि चीनबाट कोरोनाभाइरस सङ्क्रमणको प्रकोप सर्ने त्रासले त्यहाँको सार्वजनिक जीवन निकै खुम्चिएको छ जसले गर्दा त्यहाँको पर्यटन क्षेत्रमा गम्भीर प्रभाव परेको छ।

एउटा क्षेत्रीय वित्तीय केन्द्रको रूपमा रहेको हङ्‍कङमा वर्तमान अमेरिका-चीन व्यापार युद्धका कारण पनि असर परेको थियो।

-बीबीसीबाट