-प्रकाश बञ्जारा
यूएई । सुदुरपश्चिम कञ्चनपुर घर भई हाल दुवईमा रोजगारी गर्ने विष्ट थरका एक युवा दिदी साईनो लगाएर कञ्चनपुर नै घर बताउने युवतीलाई सापटी दिएको १५ सय दिराम अर्थात झण्डै नेपाली ४५ हजार रुपैयाँ लगभग माया मार्नुपर्ने अवस्थामा आइपुगेका छन् । दुवई आइसकेपछि नै बजार जाने क्रममा भेट भएर चिनजान गरेका यी युवाले आगामी महिनाको तलवमा फिर्ता गर्ने शर्तमा झण्डै एक बर्षभन्दा पहिला ती युवतीलाई पैसा दिएका रहेछन् । पैसा दिएपछि फिर्ता लिन बारम्बार गरेको ताकेता असफल भएपछि अहिले १ वर्षदेखि उनको पैसा लिएकी ती युवती उनको सम्पर्कबाट पूर्ण रुपमा बिच्छेद भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका छन् । 

पैसा लिएपछि शुरुका दिनमा बिभिन्न समस्या देखाउँदै भाखा राख्ने गरेको भएता पनि पैसा लिएको ४ ५ महिना पछिबाट भने युवतीले  यी युवालाई फेसबुकमा ब्लक गरेको र मोवाइल नम्बर समेत परिवर्तन गरेर सम्पर्क टुटाएको उनले खुलाएका छन् । 

युएईमा भएका नेपालीले चलाएको केही फेसबुक पेज र ग्रुपमा उनको पोष्ट भाइरल भएपछि बिजशालाले बिष्टलाई सम्पर्क गरेको थियो । बिजशालासँगको कुराकानीमा उनले सामाजिक सञ्जालमा पोष्ट गरिसकेपछि युवती सम्पर्कमा आएको र भेटेर लिएको पैसा फिर्ता गर्ने भाखा दिएको बताए । गुमेको पैसा फिर्ता आउने बचन आएकाले आफ्नो नाम जोडेर समाचार नबनाइदिन उनले अनुरोध गरेका छन् । उनकै आग्रहमा उनको नाम गोप्य राखिएको छ, तथापि यो हप्ताभरिन उनको नाम सामाजिक सञ्जालका भित्ताभरि छरपष्ट जस्तै थियो । 

यता छिन्ताङ्ग गाउँ विकास समिति धनकुटा घर भएर युएईको अवुधावीमा रोजगार गर्दै आएकी रमिता तामाङ्ग(नाम परिवर्तन)ले युएईमा आएरै आफूसँग विवाह गरेको तथा विवाह गर्ने सहमति गरेको केटा साथी उनकै गाउँतिरको तामाङ्ग थरका युवाले आफ्नो नगद  र गहना समेत लिएको र हाल आएर सम्बन्धबाट टाढिएको बताएकी छिन् । रमिताले गैरआवासीय नेपाली सँघ युएई, नेपाली समाज अबुधावी र नेपाल पत्रकार महासँघ युएईलाई सम्बोधन गर्दै वि.स.२०७४ कात्तिक १६ गते महिला हिंसा गर्ने पीडक तामाङ्गलाई कारबाही माग गर्दै निवेदन दिएकी थिईन । युवती तामाङ्गले निवेदनमा खुलाएको विवरण अनुसार आफू केटाको घर र वास्तविकताको बारेमा राम्रोसँग नबुझिकन विवाह गर्न राजी भएको र सम्बन्ध अघि बढेसँगै आपसी समझदारीमा १७ लाख नेपाली रुपैँया बराबरको रकम युवाले उनीबाट लिएका र अहिले आएर आफूलाई वास्ता नगरेको दाबी गरेकी छिन् । रमिताले दिएको निवेदन अनुसार उनलाई विवाहको आश्वासन दिने ती गाउँले युवाले पहिलै विवाह गरिसकेका रहेछन् भने वास्तविकता थाहा पाईसकेपछि उनीसँग पैसा फिर्ता माग्दा पैसा दिएको प्रमाण खोज्ने तथा मानसिक तनाव दिने गरेको निवेदनमा बताएकि छिन् । 

अहिलेको उनीहरुको वास्तविकता बुझ्न बिजशालाले युवतीलाई सम्पर्क गर्न खोजेको प्रयास सफल हुन सकेन । यसबारे हामीले गैरआवासीय नेपाली सँघ युएईका अध्यक्ष रमेश श्रेष्ठसँग कुरा गर्यौँ । श्रेष्ठका अनुसार उनीहरुको सम्बन्ध राम्रो हुँदाका बखत समझदारीमा भएको आर्थिक लेनदेन भएकाले त्यो घटनाको भित्रसम्म पस्न सहज थिएन । निवेदन दिएपछि नजिकबाट घटनाको बारेमा बुझ्न दुवै जना युवती र युवालाई आफूलाई भेट्न आउन भने पनि उनीहरु आफूसँग नआएको श्रेष्ठले बताए । “गम्भीर भएर भेट्न आएको भए समझदारीमै अथवा कानुनी लगायतका उपचार गर्न सकिन्थ्यो, तर उहाँहरु आउनुभएन।” श्रेष्ठले बिजशालासँग भने । 

विदेशमा बस्दाका बखत यस्ता समस्या धेरैको आउने गरेको बताउँदै एनआरएन अध्यक्ष श्रेष्ठले माया प्रेम अन्धो हुने भएकाले आन्तरिक लुकिछिपीमा यस्ता घटनाहरु हुने र पछि आफू ठगिएको जानकारी भएपछि मात्र अरुको सहयोग खोज्ने प्रवृति रहेको बताए । उनले प्रवासमा रहेका बेला जुन देशमा रहेको हो, त्यो देशको कानुनलाई बुझेर जुनसुकै क्रियाकलाप गर्न र सकेसम्म आर्थिक लेनदेनका बिषयमा टाढै रहन प्रवासी नेपालीलाई आग्रह पनि गरेका छन् । निकट भवष्यिमा एनआरएनले समेत यस्ता गतिविधिबाट सजग रहन जनचेतनाका कार्यक्रम ल्याउने श्रेष्ठको भनाई छ । 

सामाजिक अभियन्ता तथा नेपाली इन युएई फेसबुक ग्रुपका एड्मिन र सञ्चालक महेश थापा विभिन्न बहाना र प्रलोभनमा नेपालीले नेपालीलाई ठगी गर्ने गरेको घटना बढ्दै गरेको बताउँछन् । हामीसँगको कुराकानीमा थापाले पहिला सोधपुछ नगरीकनै आर्थिक कारोबारहरु गर्ने र ठगीको शिकार भइसकेपछि मात्र ठग्ने व्यक्तिको फोटो तथा भिडियो सहित सामाजिक सञ्जालमा पोष्ट गर्न नेपालीहरु लागिपर्ने गरेको बताए । असभ्य भाषा र अपुष्ट जानकारी सहित अर्काको मानहानी हुनेगरी आएका यस्ता पोष्टहरुलाई आफूहरुले सार्वजनिक गर्न स्वीकृत नगर्ने गरेको थापा बताउँछन् । 

कतिपयले फेसबुक ग्रुपमा सार्वजनिक गर्ने यस्ता पोष्टले निगरानी गरिरहेको निकायले लिनसक्ने एक्सन तथा कानुनी झमेलाबाट टाढै रहन सकेसम्म विषयको बारेमा राम्रोसँग बुझ्ने र आन्तरिक तवरबाट समाधान खोज्न सुझाव दिने गरेको थापा बताउँछन् । थापा सम्बद्ध युवाहरुले चलाएको यो फेसबुक ग्रुपमा युएईका रहेका झण्ठै आधा लाख नेपाली जोडिएका छन् । 

थापाले बताएअनुसार प्रमाण सहित सामाजिक सञ्जालमा पोष्ट सार्वजनिक गरिसकेपछि आफ्नो इज्जत जोगाउनै भए पनि ठगहरु सम्पर्कमा आएर पोष्ट हटाए पैसा फिर्ता दिने भनेर अगाडि आउने गरेका पनि छन् ।  धेरैजसो ठगीका घटनाहरु भिजिट भिषामा ल्याएर जागिरको प्रलोभन देखाउने र अलपत्र पारेर बेपत्ता हुने गरेका  घटना बढेको उनले बताए । 

कतिपय ठगहरुले पीडितको मावनीय संवेदनासँग खेलवाड गरेर जागिर मिलाईदिने आश्वासन दिँदै पैसा लिने र बेपत्ता हुने गरेको घटनाको लामै फेहरिस्त रहेको थापाको भनाई छ । जागिरका लागि होस् या त अन्य कुनै पनि शीर्षकमा चिनजान नभएको मान्छेसँग आर्थिक कारोबार नगर्न समस्त युएईका नेपालीलाई थापाको सुझाव छ । 

“आश्वासन पाउने बित्तिकै बिना कुनै आधार तथा प्रमाण प्रवासमा कसैसँग पनि लेनदेनको कारोबार नगर्नुहोस, यदि तपाईको कुनै काम गर्दैछ, गर्छ भन्ने लाग्छ भने पनि विश्वस्त प्रमाण तथा बिल लिएर मात्र आर्थिक कारोबार गर्नुहोस।” थापाको सुझाव छ। 

बिजशालासँगको कुराकानीमा नेपाल पत्रकार महासँघ युएई च्याप्टरकाका अध्यक्ष भुपराज बस्यालले पैसाको मुख कालो हुने भएकाले आर्थिक लेनदेनका मामलामा सजग रहन युएईबासी नेपालीलाई आग्रह गरे । उनले सामाजिक सञ्जाल तथा अनलाईन मिडियामा धेरै जानकारी पाईने हुनाले कुनै पनि कदम चाल्नुपूर्व त्यसबारे अध्ययन गरेर मात्र पाइला अगाडि बढाउन भनेका छन् ।