काठमाण्डौ । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि बुधबार बिहान ६ः१६ बजे उडेको मकालु एयरको 'नाइन एन एजेयु' कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको राससले लेखेको छ ।

विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने बिमानको सुरक्षित अवतरण भएको र चालक दलका सदस्य जिवितै रहेका सूचना दिएको थियो, जुन गलत साबित भएको छ।

विमानमा चालक दलका दुई सदस्यमध्ये एकजना किरण भट्टराई रहेका र अर्का सदस्यको नाम खुल्न सकेको छैन ।