काठमाण्डौ । मंगलबार बजार फेरि राताम्मे भएको छ । अनलाइन कारोबार प्रणाली पछाडि धकेलिने कुराले लगानीकर्ता अन्यौलग्रस्त हुँदा नेप्से परिसूचक ८.९७ अंकले घटेर १२२६.१८ को विन्दूमा समेटिन पुगेको हो । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृतले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली समयमै(साउनदेखि नै) आउने बताइरहेका बेला त्यसपछि भन्दा धकेलिने भन्ने खबर भाइरल हुँदा लगानीकर्ताको मनोबल थप खस्किएको हो । 

पछिल्लो समय एउटा कुनै कारणले नेप्सेमा प्रभाव परिरहेको छ । घरि करको अन्यौलले बजार घट्छ भने घरि कुनै खबर विशेष प्रभावले घटिरहेको हुन्छ । यस्तै खबरहरुका कारण बजार कहिलेकाही सामान्य अंकले बढ्ने पनि गरेको छ । यसरी हेर्दा लगानीकर्ता अझै पनि हल्लाकै पछि कुद्ने गरेका छन् भन्ने देखिन्छ । आफूले लगानी गर्न चाहेको कम्पनीको बिषयमा अध्ययन गर्नुभन्दा बजार परिसूचकको घटबढ हेरेर तथा हल्लाको पछि लाग्दा बजारमा घटबढको श्रृंखला पछिल्ला दिनहरुमा बाक्लै देखिन थालेका छन् । 

मंगलबार बजारका सबै समूहको सूचक घटेर राताम्मे भए । बैंकिंग समूह ५.८६ अंकले घट्यो भने विकास बैंक, बिमा, माइक्रोफाइनान्स समूहमा क्रमशः १४.४८, ९३.९ र १४.२९ अंकले घटे । यस्तै, होटल समूह ८.०५, जलविद्युत समूह २.६२, बित्त समूह ३.१२, उत्पादनमूलक १९.१२ र अन्य समूह ३.४६ अंकले घटे । 

यो दिन बजारमा ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स १.७१ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.६३ अंकको गिरावट देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका ५ लाख ८७ हजार ५ सय ५८ कित्ता सेयर २० करोड ८४ लाख ८६ हजार १ सय ५५ रुपैयाँमा किनबेच भयो । 

यो दिन नेपाल बैंक लिमीटेडले सबैभन्दा बढी २ करोड ६७ लाख बढीको कारोबार गर्यो । यस्तै, एनआइसी एशिया बैंकले २ करोड ६६ लाख, ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले ८१ लाख, एनएमबी बैंकले ७२ लाख बढीको कारोबार गरे । नागबेली लघुवित्त विकास बैंकको ६० लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ५७ लाख, एभरेष्ट बैंकले ५५ लाख, चिलिमे हाइड्रोले ५४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि समता माइक्रोफाइनान्सका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

धेरै गुमाउनेमा सोमबार झै मंगलबार पनि रादी जलविद्युत कम्पनीका लगानीकर्ता नै देखिए । यो कम्पनीको सेयर मूल्य ४.५८ प्रतिशतले घट्यो ।