काठमाण्डौ । सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । 

लुक्लाबाट रामेछापका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको नाइन एनएएमएच विमान धावनमार्गमा चिप्लिएर पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो ।

दुर्घटनामा समीट एयरका विमान सहचालक एस ढुङ्गाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी (असई) रामबहादुर खड्काको घटनास्थलमै र अर्का असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाण्डौ ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

नागरिक उड्डयन प्राधिकरण लुक्लाका अनुसार दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया र मनाङ एयरका क्याप्टेन घाइते भएका छन् । रोकायाको अवस्था गम्भीर छ । उनीहरु दुवैको काठमाण्डौमा उपचार भइरहेको छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ ।