काठमाण्डौ । प्रधानमन्त्रीले अर्थमन्त्री र गभर्नरलाई राखेर बैंकको ब्याजदर घटाउने गरी पहल थाल्न र हस्तक्षेप गरेरै भए पनि दर घटाउन आग्रह गरेको खबरले सेयर बजारमा खासै प्रभाव पारेन । 

शनिवार उद्योगी व्यवसायीसहितको बैठक बालुवाटारमा डाकेका प्रधानमन्त्रीले २ ३ दिनभित्रै बैंक ब्याजदरमाथि हस्तक्षेप गर्न र समस्याको समाधान निकाल्न गरेको आग्रहलाई लगानीकर्ताले पत्याएनन् । 

बैंकको ब्याजदर नियन्त्रणका लागि प्रधानमन्त्री नै सकारात्मक रहेको खबर फैलिए पनि ब्याजदर तत्काल घटाइहाल्ने अवस्था नरहेको अर्थमन्त्रीको भनाईलाई लगानीकर्ताले बढी गम्भीर रुपमा लिएका देखिएको छ । यहीकारण साताको  पहिलो दिनको बजारमा प्रधानमन्त्रीको ब्याजदरमाथि हस्तक्षेपको फण्डाले काम गर्न सकेन । फलस्वरुप, बजार परिसूचक ३.१५ अंकले घटी ११०९.७२ को विन्दूमा सीमित हुन पुगेको छ भने २१ करोड भन्दा केही बढीको मात्र सेयर कारोबार भएको छ । 

यो दिन बजारका तीनवटा समूहको सूचक बढ्यो । होटल समूह ५.५ अंकले बढ्यो भने विकास बैंक समूह ३.६८ र उत्पादनमूलक समूह ६.२५ अंकले बढ्यो । 

बाँकी सबै समूहको सूचक ओरालो लाग्यो । बैंकिंग समूह ०.९२ अंकले बढेको यो दिन व्यापार समूह ४.१४ अंक, जलविद्युत समूह ८.३४ अंक, बित्त समूह १.३६ अंक, निर्जीवन बिमा समूह ९.०५ अंक, माइक्रोफाइनान्स समूह १.६६ अंक, जीवन बिमा समूह ५३.७५ अंक र अन्य समूह ७.७८ अंकले घटे ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७३ कम्पनीका ८ लाख २८ हजार ८ सय ५३ कित्ता सेयर २१ करोड ७ लाख ३२ हजार १४७ रुपैयाँमा किनबेच भए । 

साधारणसभा प्रयोजनका लागि भोलिदेखि बुक क्लोज हुने भएकोले प्रभू बैंकले सबैभन्दा बढी १ करोड ९० लाख बढीको कारोबार गर्यो ।

नागरिक लगानीकोषले १ करोड १९ लाख बढीको कारोबार गरेको यो दिन अपर तामाकोशीले १ करोड २ लाख बढीको कारोबार गरेको छ । 

प्रभू बैंकको ९४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा बैंक अफ काठमाण्डूले ८१ लाख, एनएमबी बैंकले ७३ लाख, कृषि विकास बैंकले ६२ लाख, एनसीसी बैंकले ५६ लाख, नेपाल बैंकले ५२ लाख र नवील बैंकले पनि ५२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चौतारी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा घट्यो ।