काठमाण्डौ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी स्टल बुक भएको छ । 

विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तीब्र पारिएको आयोजकले जानकारी दिएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्सपो आयोजना गर्न लागेका हुन् । 

एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागि हुनका लागि विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इप्पानले जनाएको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहने छ । 

जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरिसकेका छन् । अर्को आयोजक संस्था एक्स्पो एण्ड एभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । 

जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्व रहनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन् ।

नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् । 

एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिनेछ । 

हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार बितरण गरिनेछ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रोपावर कम्पनीका प्रतिनिधि एक्स्पोमा सहभागी हुँदै छन् । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय र नेपाल शिपिंग एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।

एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने विश्वास आयोजकले लिएको छ ।