काठमाण्डौ । नेपालका सडकहरु त्यति सुरक्षित छैनन् । अझै हाइवेमा गाडी चलाउन निकै जोखिमपूर्ण रहेको छ ।

ट्राफिक नियमको उल्लंघनसँगै जथाभावी गाडी चलाउँदा बर्सेनि थुप्रैले ज्यान गुमाउँदै आएका छन् भने थुप्रै अंगभंग भएर बाँचेका छन् । विशेषगरी हाइवेमा ड्राभिङ गर्दा हामी ट्राफिक जामको टेन्सनबाट मुक्त हुन्छौँ तर ओभर स्पिड र ओभरटेकजस्ता केही गल्तीले ठूलो दुर्घटनालाई निम्तो दिइरहेका हुन्छौँ । यदि तपाइँ हाइवेमा गाडी चलाउँदै हुनुहुन्छ भने तपाइँमात्र होइन तपाइँसँगै यात्रा गरिरहेका पनि एउटा सानो गल्तीले दुर्घटनाको भागिदार बन्नुपर्ने हुन्छ ।

यहाँ हामी तपाइँहरुलाई हाइवेमा तपाइँ हामीले गाडी चलाउँदा गर्न नहुने यी आम ५ गल्तीका विषयमा चर्चा गर्न गइरहेका छौँ । यदि यी गल्ती गरेनौँ भने हामी सुरक्षित रुपमा आफ्नो गन्तव्य पुग्न सक्छौँ ।

१. ओभर स्पिड बढी जोखिमपूर्ण हुन्छ । हाइवेमा गाडी कुदाउँदा यसमा बढी ध्यान दिनुपर्छ । जब हामी सहरी क्षेत्रबाट हाइवेमा प्रवेश गर्छौं तब गाडी स्पिड पनि बढाउन थाल्छौँ । तर हाम्रो शरीर तत्काल गाडीको स्पिडसँग अड्जस्त हुँदैन । जसले गर्दा हामी अचानक आइपुर्ने दुर्घटनाको मुखमा नियन्त्रण गुमाउँछौँ र नसोचेको घटना हुन पुग्छ ।

२. हाइवेमा गाडी चलाउने क्रममा घुम्ती सडकमा ओभरटेक गर्ने कोसिस नगरौँ । घुम्ती सडक सकिएपछि मात्र अगाडि पछाडिको गाडीलाई सिग्नल दिएर ओभरटेक गर्दा राम्रो हुन्छ । घुम्ती सडकमा जथाभावी ओभरटेक गर्न खोज्दा गाडीबाट तपाइँको नियन्त्रण गुम्न सक्छ तर दुर्घटना हुन सक्छ ।

३. रातको समयमा हाइवेमा गाडी चलाउँदा अझै सचेत हुनु जरुरी छ। रातको समयमा आफ्नो लेनमा गाडी चलाउनुपर्छ । यदि लेन मिचेर गाडी चलायौँ भने विपरीत दिशाबाट आउने गाडी ठोक्किन सक्छ । त्यस्तै रातको समयमा हेडलाइट र साइड लाइटको प्रयोग पनि सावधानीपूर्वक गर्नुपर्छ । जसले गर्दा विपरीत दिशा र पछाडिबाट आइरहेका अन्य गाडीसँग तपाइँको गाडीको तामेल मिलोस् ।

४. हाइवेमा गाडी चलाउँदा आफ्नो लेनमा चलाउनुपर्छ । जथाभावी लेन मिचेर गाडी चलाउँदा दुर्घटना निम्तिन सक्छ ।

५. यदि तपाइँ हाइवेमा लाइट गाडी चलाइरहनुभएको छ भने ठूला गाडीबाट बच्न जरुरी छ । त्यसैले यदि ठूलो गाडी तपाइँको गाडीको अगाडि र पछाडि गुडिरहेका छन् दूरी बनाउन जरुरी हुन्छ ।