काठमाण्डौ । हाम्रो विकास बैंक र सहयोगी विकास बैंक हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेका छन् । 

हाम्रो विकास बैंकले चुक्तापूँजीको २ सय प्रतिशत र सहयोगी विकास बैंकले ३५ प्रतिशत हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । उनीहरुको आवेदनका आधारमा यी दुवै कम्पनीको हकप्रदको प्रस्तावलाई बोर्डले बिहीबारदेखि पाइपलाइनमा राखेको छ । 

बोर्डका अनुसार हाम्रो विकास बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३० लाख ५८ हजार ३ सय ३८ कित्ता हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको हो । एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले यो बैंकको हकप्रद निश्कासनमा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । यो बैंकको चुक्तापूँजी १५ करोड २९ लाख रुपैयाँ रहेको छ । २ सय प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी वृद्धि भई ४५ करोड ८८ लाख पुुग्नेछ । नेपाल राष्ट्रबैंकले १ देखि ३ जिल्ले विकास बैंकको ०७४ असार मसान्तसम्म चुक्तापूँजी ५० करोड हुनुपर्ने नीति लिएको छ । यो विकास बैंकलाई तोकिएको पूँजी पुर्याउन हकप्रदपछि खासै ठूलो कसरत गरिरहन नपर्ने देखिन्छ । 
यो बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ९२ लाख १६हजार खूद नाफा आर्जन गरेको थियो । 

यसैगरी, सहयोगी विकास बैंकले चाहि ३५ प्रतिशतको दरले हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको हो । यो बैंकको हकप्रद निश्कासनमा एनसिएम मर्चेन्ट बैकिंग लिमीटेड बिक्री प्रबन्धकको रुपमा रहनेछ । 

यो बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ११ लाख १ हजार १ सय ३५ कित्ता हकप्रद सेयर निश्कासनको अनुमति मागेको हो । यो विकास बैंकको चुक्तापूँजी ३१ करोड ४६ लाख रुपैयाँ रहेको छ । ३५ प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ४२ करोड ४७ लाखको उचाईमा पुुग्नेछ । नेपाल राष्ट्रबैंकको १ देखि ३ जिल्ले विकास बैंकले ०७४ असार मसान्तसम्म ५० करोड चुक्तापूँजी पुर्याउने नीति अनुसार यो बैंकले तोकिएको पूँजी पुर्याउन केही कसरत गर्नुपर्ने देखिन्छ । 

यो विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ६५ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो ।