काठमाण्डौ । वाणिज्य बैंकहरुले मात्र निश्कासन गर्दै आएको ऋणपत्र अब आइसीएफसी फाइनान्सले पनि ल्याउने भएको छ । 

यो कम्पनीले निश्कासन गर्ने भनिएको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याज पाइने भएका कारण सबैको ध्यान तानिएको छ । सबैलाई आकर्षिक गरेको यो कम्पनीको ऋणपत्रलाई धितोपत्र बोर्डले निश्कासनको स्वीकृति दिएको छ । 

बोर्डको स्वीकृतिसँगै नेपालको इतिहासमै “क” वर्गका वाणिज्य बैंकहरु पश्चात् नेपाल राष्ट्र बैंंकबाट अनुमति प्राप्त गरी डिवेञ्चर निष्कासन गर्ने पहिलो वित्तीय संस्थाको रुपमा आइसीएफसी फाइनान्स लिमिटेडले इतिहास बनाउने पक्का भएको छ ।  

यो फाइनान्स कम्पनीले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासन गर्न लागेको हो । 

यो कम्पनीको ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ । 

फाइनान्सले रु. १००० दरका कुल २ लाख कित्ता ऋणपत्र निश्कासन गर्नेछ । यीमध्ये ८० हजार कित्ता सर्वसाधारणमार्फत बिक्री गरिनेछ भने बाँकी १ लाख २० हजार कित्ता प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ । 

सात वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १२ प्रतिशत ब्याज पाउनेछन् । ब्याजको भुक्तानी प्रत्येक ६ महिनामा हुने बताइएको छ ।

अहिले बजारमा ऋणपत्र निश्कासन गर्ने वाणिज्य बैंकहरुले वार्षिक अधिकतम १०.२५ प्रतिशतसम्म ब्याज अफर गरेका छन् । कृषि विकास बैंकले ल्याउन लागेका ऋणपत्रमा अधिकतम १०.३५ प्रतिशत ब्याज अफर गरिएको छ । तर, यी सबै विकल्प भन्दा धेरै अर्थात वार्षिक १२ प्रतिशत ब्याज पाइने गरी फाइनान्सले ऋणपत्र निश्कासन गर्नेछ ।