काठमाडौं । नेपाली सेयर बजारको सबैभन्दा ठूलो आइपीओको अण्डराइटर नागरिक लगानी कोष हुने भएको छ । 

दोश्रो बजारको स्थायीत्वका लागि स्टक डिलर कम्पनी स्थापना गर्न लागेको कोषले नेपाल इन्फ्रास्टक्चर बैंकले ल्याउन लागेको हालसम्मकै ठूलो आकारको आइपीओमा प्रत्याभूतिकर्ता नियुक्त भएको हो । 

बैंकले निकट भविष्यमै १ सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता आइपीओ ल्याउनेछ । ८ अर्ब रुपैयाँको आइपीओको अण्डरराइटर कोष भएपछि कुनै कारणले बैंकको आइपीओ बिक्री भएन भने बिक्री नभएको सबै कित्ता उसले सकार्नुपर्नेछ । 

अण्डराइट सम्बन्धमा कोष र बैंकबीच मंगलबार सम्झौता भएको छ । सम्झौतापत्रमा नागरिक लगानी कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् । 

आइपीओको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल यसअघि नै नियुक्त भइसकेको छ । 

सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक देशकै पहिलो पूर्वाधार विकास बैंक हो । बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पुँजी २० अर्ब र चुक्तापुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी बढेर २० अर्ब रुपैयाँको उचाईमा पुग्नेछ ।