काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्मको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ।

चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा २६.४१ प्रतिशतले बढाउन सफल भएको छ। बैंकले खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो मुनाफा ९६ करोड १२ लाख रुपैयाँमा सीमित थियो। 

यस अवधिसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानीबापत आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो।

बैंकले समीक्षा अवधिसम्म २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २० करोड निक्षेप संकलन गरी करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

बैंकले रिजर्भको आकार १०६.९७ प्रतिशतले बढाउँदै १ अर्ब ६३ करोड रुपैयाँको बनाएको छ। अघिल्लो वर्ष बैंकको रिजर्भ ७८ करोड ९८ लाख रुपैयाँको थियो।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ७.०६ रुपैयाँ रहेको छ। 

बैंकले निकट भविष्यमै ८ अर्ब रुपैयाँको आईपीओ निष्कासन गर्न तयारी गरिरहेको छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिसकिएको छ।