काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को इस्यूमा एकाएक नरम बनेको नेपाल राष्ट्रबैंकले हिमालयन बैंक लिमीटेडलाई सिभिल वा बैंक अफ काठमाण्डू(बीओके)लाई अक्वायर गर्न सुझाव दिएको खुलेको छ । 

राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार डेपुटी गभर्नरको तहबाट हिमालयन बैंकलाई उपयुक्त मर्जर पार्टनरको रुपमा सिभिल वा बीओकेसँग सहमति गर्न आग्रह गरिएको हो । 

‘हिमालयन बैंकका संचालक र सीइओलाई बोलाएरै सिभिल वा बीओकेमध्ये एउटा बैंकसँग मर्जर सहमति गर्न डेपुटी गभर्नरले भन्नुभएको थियो ।’ स्रोतले भन्यो–‘यो विषयमा हिमालयन बैंकका सीइओ सकारात्मक भए पनि संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठ सकारात्मक भएनन् ।’ 

डेपुटी गभर्नरले नामै तोकेर उपयुक्त मर्जर पार्टनर हुने भनिएका बैंकमध्ये  सिभिल बैंकसँग हिमालयन बैंकको एउटा टिमले केही चरणको वार्ता समेत गरेको थियो । सो क्रममा सबै कुरा सकारात्मक रुपमा अगाडि बढे पनि मौद्रिक नीतिमार्फत मर्जरको बाध्यकारी व्यवस्था नभएपछि दुवै बैंक तै चूप मै चूप भएका स्रोतको दाबी छ । हिमालयन बैंकसँग मर्जर छलफल निकै अगाडि बढेको भन्दै मर्जरको संभावना बलियो रहेको सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले एक कार्यक्रमको दौरान केही पत्रकारहरुलाई बताएका थिए । 

डेपुटी गभर्नरको तहबाटै नाम लिइएपछि बैंक अफ काठमाण्डूसँग पनि एक चरणमा मर्जर विषयमा हिमालयन बैंकले कुराकानी गरेको थियो, जुन त्यसपछि अगाडि बढ्न सकेन । 

हिमालयनले ताकेको थियो सेञ्चुरी
राष्टबैंकका डेपुटी गभर्नरबाट सिभिल वा बीओकेमध्ये एउटा बैंकसँग मर्जर सम्झौता गर्न हिमालयन बैंकलाई सुझाव दिइएको भए पनि हिमालयन बैंकका अध्यक्ष र केही संचालक भने सेञ्चुरी कमर्सियल बैंकलाई अक्वायर गर्ने चाहनामा थिए । 

‘अध्यक्ष मनोजबहादुर श्रेष्ठको सेञ्चुरीका अध्यक्ष राजेश श्रेष्ठसँग राम्रो सम्बन्ध भएका कारण र दुवै एउटै समुदायबाट प्रतिनिधित्व गर्ने भएकोले समेत मर्जर सहज देखेर यी दुई बैंकबीच केही चरणका कुराकानी भएका थिए ।’ स्रोत भन्छ–‘हिमालयनका अध्यक्ष व्यक्तिगत रुपमा सिभिल र बीओकेलाई छाडेर सेञ्चुरीसँग मर्जर सम्झौता गर्न चाहन्थे । त्यसरी सेञ्चुरीमा जाँदा उनले बैंकमा आफ्नो प्रभूत्व नगुम्ने विश्लेषण गरेका थिए ।’ 

सेञ्चुरी पनि हिमालयनको प्रस्तावप्रति सकारात्मक नै थियो । दुई अध्यक्षबीच केही चरणका कुराकानी पनि भएका थिए । राष्ट्रबैंकको बिग मर्जरको कडा नीति कायम भएको भए जनता र ग्लोबलपछि बिग मर्जरको सम्झौता गर्ने बैंकमा संभवत हिमालयन र सेञ्चुरी पर्ने थिए । तर, यी दुई बैंकको संभावित मर्जर सम्झौता पनि अनपेक्षित र कमजोर मौद्रिक नीतिका कारण तत्कालका लागि टरेर गयो । अन्यले झै यी बैंकहरु समेत अब पहिला झै मर्जरका लागि सक्रिय बनेका छैनन् ।