काठमाण्डौ । हिमालयन बैंकभित्र भाँडभैलो मच्चिएको छ । ११.८५ प्रतिशत सेयर स्वामित्व रहेको म्युचुुअल ट्रेडिङ कम्पनी प्रालिले सिफारिस गरेबमोजिम संचालक नियुक्तिका लागि बैंकको बोर्ड बैठकले अस्वीकार गरिदिएपछि यसले ठूलो रुप लिने संभावना देखिएको हो । 

म्युुचुुअल ट्रेडिङ कम्पनीको बैंकमा ११.८५ प्रतिशत सेयर स्वामित्व छ । यो कम्पनी हिमालयन बैंकको चौथो ठूलो सेयरधनी हो । तर, यही कम्पनीबाट संचालक समितिमा एकजनालाई पनि नियुक्त नगरिएपछि विवादले उग्र रुप लिने देखिएको छ । 

म्युुचुुअल ट्रेडिङ कम्पनीले आफ्नो तर्फबाट प्रसाद ज्ञवालीलाई संचालकको रुपमा मनोनीत गरी पठाइएको लिखित जानकारी २०१७ अगस्ट २० का दिन बैंकलाई गराएको थियो । बैंकले १८ सेप्टेम्बरमा कम्पनीलाई एक पत्र पठाउँदै कम्पनीको प्रस्ताव अनुसार संचालक नियुक्त गर्न नसकिने जवाफ पठाएको थियो । 

पत्रमा संचालक समितिमा निश्चित संख्याका व्यक्तिलाई मात्र संचालक बनाउन पाउने बाफियाको प्रावधान अनुसार बैंकमा ७ जना संचालक रहिसकेका अवस्थामा थप संचालक नियुक्त गर्न नपाइने भएकोले कम्पनीको सिफारिसलाई अस्वीकार गरिएको तर्क पेश गरिएको छ । कम्पनीको प्रस्ताव अगस्ट ३१ मा बसेको बैंकको ३४८ औं बोर्ड बैठकमा छलफल गरिएको र बैंकका कानूनी सल्लाहकारसँग समेत छलफल गरी तत्काल थप संचालक थप्न नमिल्ने भनिएको थियो ।

 

चौथो धेरै सेयर स्वामित्व भए पनि आफूहरुको तर्फबाट एकजना समेत संचालक नियुक्त नगरिएपछि म्युुचुुअल ट्रेडिङ कम्पनी लिमीटेडले असोज ४ गते हिमालयन बैंकको संचालक समिति, नेपाल राष्ट्रबैंक लगायतका निकायलाई समेत पत्र लेख्दै विशेष साधारणसभाको माग गरेको छ । तर, यो मागको बिषयमा हालसम्म सबैले मौनता साँधेका छन् । 

कम्पनीले संस्थापक सेयरधनीमध्ये म्युुचुुअल ट्रेडिङ कम्पनी प्रालिको भन्दा कम सेयर धारण गरेका संस्थापकहरुबाट संचालकको प्रतिनिधित्व भएको देखिएको भन्दै आफ्नो तर्फबाट संचालक नियुक्त गरेर बैंकमा सिफारिस गरी पठाउँदा गैरकानूनी र गैरजिम्मेवार ढंगले जवाफ प्राप्त भएको जिकिर गरेको छ । 

‘आलटाल जवाफ दिई सेयरधनीको अधिकार मिच्ने अधिकार कसैलाई पनि छैन ।’ संचालक समितिलाई साधारणसभा आह्वानका लागि लेखिएको पत्रमा भनिएको छ–‘७ जना मात्र संचालक हुन पाउने हो भने हामी भन्दा कम सेयर भएका सेयरधनीको संचालक प्रतिनिधि हुने, तर ११.८५ प्रतिशत सेयरको संचालक प्रतिनिधि हुन नसक्ने र हुन नदिने कारण के हो ? जुन न्याय संगत छैन।’ 

कम्पनीले संचालक समितिमा सेयर योगदानको हैसियतमा संचालकको प्रतिनिधित्व हुनुपर्ने माग समेत गरेको छ । ‘तसर्थ, विशेष साधारणसभा बोलाई तत्कालै बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको सेयर योगदानको हैसियतमा संचालक समिति गठन किन नगर्ने ?’ कम्पनीले भनेको छ–‘बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन २०७३ को प्रावधान विपरीत कुनै सेयरधनीको हकअधिकारलाई मिच्न खोज्ने र प्रश्न गर्दा नियमनकारी निकायको नियमलाई प्रभाव पार्ने किसिमको क्रियाकलाप गरी गैरजिम्मेवार जवाफ दिने प्रवृति स्वीकार्य हुन सक्दैन ।’ 

सेयरधनीको सेयर योगदानको हैसियतमा संचालक प्रतिनिधित्व गर्न बैंकको हालको संचालक समितिको न्यायिक पुनर्गठन हुनुुपर्ने कम्पनीको माग छ । 

बैंकमा सेयर योगदानको हैसियतमा प्रतिनिधित्व हुनका लागि बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंकको नियमावलीको नियम ८ संसोधन तथा संचालक समिति पुनर्गठन नभएसम्म अविलम्ब विशेष साधारणसभा आह्वान गर्न बाहेक हाल कायम संचालक समितिबाट अन्य कुनै निर्णय समेत नगर्न नगराउन कम्पनीले आग्रह गरेको छ । 

कम्पनीले कम्पनी ऐन २०६३ को दफा ८२(३) मा भएको व्यवस्था बमोजिमको म्याद ३० दिनभित्र अविलम्ब विशेष साधारणसभा बोलाउन भन्दै प्रस्ताव समेत पेश गरेको छ । प्रस्तावमा बैंकको हालको संचालक समिति पुनर्गठन गरी निर्वाचनको माध्यमबाट नयाँ समिति गठन गर्नुपर्ने उल्लेख छ । 

म्युुचुुअल ट्रेडिङ कम्पनीले असोज २२ गते कम्पनी रजिष्टारको कार्यालयमा समेत विशेष साधारणसभा बोलाई पाउन आग्रह गर्दै निवेदन दर्ता गराएको छ । निवेदनमा संचालक समिति पुनर्गठन नभएसम्म अविलम्ब विशेष साधारणसभा आह्वान गर्ने वातावरण बनाइदिन र हाल कायम रहेको संचालक समितिबाट अन्य कुनै निर्णय समेत नगर्न नगराउन सक्ने गरी बैंकलाई निर्देशन दिन समेत माग गरिएको थियो । आफूहरुले असोज ४ गते नै विशेष साधारणसभा आह्वान गर्न माग गर्दै बैंकमा निवेदन दिए पनि त्यस बिषयमा बेवास्ता गरिएको कम्पनी रजिष्टारमा हालिएको उजुरीमा उल्लेख छ । 

कम्पनी ऐन २०६३ को दफा ६७(२) तथा बैंकको नियमावलीको नियम ४(३) बमोजिम विशेष साधारणसभा गर्नका लागि कम्तीमा १५ दिन अगावै सभा हुने ठाउँ, मिति र छलफल गर्ने बिषय खोली सम्पूर्ण सेयरधनीलाई अनिवार्य सूचना दिनुपर्ने भए पनि त्यसो नगरिएको कम्पनीको भनाई छ। 

*यसअघिको समाचारमा भूलवश पुरानो सामाग्री प्रेसित भएकोमा क्षमाप्रार्थी छौं ।
-सम्पादक