काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले आगामी पुस २८ गते २५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

संचालक समितिमा प्रतिनिधित्वको बिषयले केही समय लफडामा फसेको यो बैंकले काठमाण्डौको माइतीघरस्थित कार्की ब्यांक्वेटमा वार्षिक साधारणसभा बोलाएको हो । 

साधारणसभाले संचालक समितिले सिफारिस गरेबमोजिम बैंकको जारी र चुक्तापूँजी वृद्धि गर्न चुक्तापूँजीको २५ प्रतिशतले हुन १ अर्ब ६२ करोड २९ लाख ५ हजार ८ सय ७५ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने सबन्धी विशेष प्रस्ताव स्वीकृत गर्नेछ । 

यस्तै, कर प्रयोजनका लागि ८ करोड ५४ लाख १६ हजार ७ सय ८२ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव समेत पारित हुने बताइएको छ । 

बैंकले साधारणसभा प्रयोजनका लागि पुस ११ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने प्रष्टाएको छ । यसको अर्थ बैंकको साधारणसभा सहभागी भई घोषित लाभांश पाउन पुस १० गतेभित्र यो बैंकको सेयर खरीद गरिसक्नुुपर्नेछ । 

हाल यो बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब ११ करोड पुुग्नेछ ।