काठमाण्डौ । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र हिमालयन बैंकबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार हिमालयन बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई मेडिसिटीको उपचार सेवामा विशेष छुट प्रदान गरिने बताइएको छ । 

अस्पतालका अनुसार औषधि, रेडियोलोजी र केही प्याकेजबाहेकका अन्य सेवामा हिमालयन बैंकका कार्डधारीले कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट हुनेछ । 

अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक एस.जे.बी राणाले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने विज्ञप्तिमा जनाइएको छ । 

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले नेपालकै उत्कृष्ट अस्पतालसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । 

खासगरी स्वास्थ्य सेवाको विकासमा स्वास्थ्य बिमाको भूमिका महत्वपूर्ण रहेकाले आगामी दिनमा यसमा समेत अघि बढ्न सकिने संकेत उनले गरेका थिए । भैसेपाटीमा आयोजना गरिएको सम्झौता हस्ताक्षर कार्यक्रममा बैंकका तर्फबाट उप–महाप्रबन्धक उज्वल राजभण्डारी, सुनिल राजभण्डारी, र सैलेन्द्र श्रेष्ठ उपस्थित थिए । अस्पतालका तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट राज राणा, र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, र अस्पतालका कर्पोरेट अधिकृत तेन्जीङ्ग कुन्सेल बज्राचार्य सहभागी थिए ।

प्रविधिको विकाससंगै बैंकिङ्ग क्षेत्रमा आएको विकास र अत्याधुनिक प्रविधि तथा उपकरण  सहितको अस्पतालले सहकार्य गर्न पाएकोमा महाप्रबन्धक रिमालले खुशी व्यक्त गरेका थिए ।