काठमाण्डौ । हिमालयन बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । 

ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाउने क्रममा बैंकले लक्ष्मी क्यापिटल लिमीटेडलाई ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

ऋणपत्र निश्कासन सम्बन्धी सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी राजिब सापकोटाले हस्ताक्षर गरेका छन्।

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका एकहजार दरका ३० लाख युनिट जारी गर्न खोजेको हो । ऋणपत्रको कुल युनिटमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तबरबाट बिक्री गरिने बैंकको भनाई छ । 

बैंकले निश्कासन गर्ने ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको हिसाबले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बताइएको छ । हिमालयन बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गर्न खोजेको हो । 

यसअघि बैंकले ७ बर्षे अवधिको हिमालयन बैंक लिमिटेड बण्ड २०७७’ जारी गरेको थियो । बैंकले उक्त ऋणपत्रमा आठ प्रतिशत ब्याज उपलब्ध गराएको थियो ।