काठमाण्डौ । चालु आर्थिक वर्ष नसकिँदै हिमालयन डिस्टीलरीले सेयरधनीलाई सगुनको रुपमा अन्तरिम लाभांश वितरणको घोषणा गरेको छ। 

कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकले गत वर्षको सञ्चित नाफामा रहेको रकमबाट  सेयरधनीहरुलाई लाभांशमा लाग्ने करसमेत गरी प्रतिसेयर ६८.४२ रुपैयाँको दरले अन्तरिम लाभांश वितरणको निर्णय गरेको हो । 

जेठ १७ गतेसम्म नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमीटेडमा सेयर सम्बन्धी कारोबार भई कम्पनीको सेयर रजिष्टार नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडमा रहेको कम्पनीको सेयरधनी दर्ता किताबमा नाम दर्ता भएका सेयरधनीहरुले लाभांश पाउनेछन् । यसको अर्थ कम्पनीको अन्तरिम लाभांश पाउन इच्छुकले जेठ १६ गतेसम्म सेयर किनिसक्नुपर्नेछ । 

हिमालयन डिष्टिलरी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर करसहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । यसको अर्थ अन्तरिम लाभांश बाहेक यो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट पुनः लगानीकर्ताले लाभांश पाउनेछन्, जसको घोषणा कम्पनीले अर्को आर्थिक वर्षमा गर्नेछ । 

हिमालयन डिष्ट्रिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३२ करोड ७१ लाख खूद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६९.२४ प्रतिशतले बढी हो । नाफा बढेकै कारण यो कम्पनीले यो आर्थिक वर्षका लागि समेत निकै राम्रो लाभांश वितरण गर्नसक्ने संभावना देखिन्छ ।