काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले ऋणपत्रको आज सोमबार अन्तिम अवसर रहेको छ ।

बैंकले गत साउन २ गतदेखि रु. ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रका इकाई निश्कासन गरेको थियो । बैंकले १०० रुपैयाँ मूल्यका ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन ६ गते र ढिलोमा भदौ १ गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो । तर निष्कासन तथा बिक्री खुला अवधि एक दिन थप गरेर भदौ २ (सोमबार) सम्म ऋणपत्र खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको हो ।

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ नामको ऋणपत्रका १ हजार दरका ३० लाख युनिट जारी गरेको छ। ऋणपत्रको कुल युनिटमध्ये ४०% अर्थात एक अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६०% अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तवरबाट बिक्री खुला गरिएको छ ।

बैंकको ऋणपत्रमा लगानी गर्नेहरुले वार्षिक १०%को हिसाबले ब्याज पाउनेछन् । ब्याजको भुक्तानी भने अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ । बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गरेको हो ।
यसअघि बैंकले ७ बर्षे अवधिको 'हिमालयन बैंक लिमिटेड बण्ड-२०७७' जारी गरेको थियो । बैंकले उक्त ऋणपत्रमा आठ प्रतिशत ब्याज उपलब्ध गराइएको थियो ।

ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमीटेड रहेको छ ।