काठमाण्डौ । हिमालयन बैंक लिमीटेडले असोजसम्म उठेको रकम बाहेक नै अहिलेकै अवस्थामा पनि आफ्ना सेयरधनीलाई १४ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको छ । 

आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा यो बैंकले १४ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको हो । 

राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई असोजसम्म उठेको रकम समेत अघिल्लो आर्थिक वर्षको लेखाङ्कन गर्न पाउने सुविधा दिएको छ । यसको अर्थ असोजसम्म उठेको रकमबाट समेत थप वितरणयोग्य मुनाफा सिर्जना हुनेछ । यसबाट यो वर्ष कोरोना कहरकै बीच पनि हिमालयन बैंकले सेयरधनीका लागि सुखद अवस्था बनाउनसक्छ भन्ने देखिन्छ । 

यो बैंकले समीक्षा अवधिमा १ अर्ब ३० करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । हाल बैंकको चुक्तापूँजी ९ अर्ब ३७ करोड रहेको छ । यसरी हिसाब गर्दा अहिलेकै अवस्थामा पनि बैंकले १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमताको विकास गरेको छ । 

बैंकको खूद नाफामा भने कोभिड १९ को असर परेको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा २ अर्ब ७६ करोड रहेकोमा केही घटी २ अर्ब ५४ करोड कायम भएको हो । 

अघिल्लो वर्ष ३ अर्ब ९४ करोड रहेको संचालन मुनाफा समेत केही घटी ३ अर्ब ३४ करोडमा सीमित बन्न पुगेको छ । 

हिमालयन बैंकले समीक्षा अवधिमा ४ अर्ब ७५ करोड खूद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्षको यही अवधिमा ५ अर्ब ३ करोडको उचाईमा थियो । 

अघिल्लो वर्ष ५ अर्ब ३० करोडमा सीमित रिजर्बको आकार बढी ५ अर्ब ६६ करोड पुगेको छ भने बैंकको निक्षेप तथा कर्जाको साइज पनि बढेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब २५ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ९ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब ६९ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ३२.४४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी सामान्य घटी २७.१३ रुपैयाँमा सीमित भएको छ भने बैंकले यो अवधिमा खराब कर्जाको अनुपातलाई घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिसम्म १.१२ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.०१ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्ष ६.५५ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ६.१८ प्रतिशतमा सीमित भएको छ भने सीडी रेसियो ६६.८५ प्रतिशत, बेस रेट ८.३८ प्रतिशत कायम भएको छ । 

समीक्षा अवधिमा बैंकको पीई रेसियो १९.९१ गुणा, प्रतिसेयर नेटवर्थ १८७.२० रुपैयाँ कायम भएको छ ।