काठमाण्डौ । नेपाल-चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले दोहा र कोलम्बोपछि तेश्रो गन्तव्य क्वालालम्पुर बनाउँदै आफ्नो उद्घाटन उडान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिहान ८:४० (स्थानीय समय)मा प्रस्थान गर्यो । 

यो उडान पूरा सिट सँख्या भरिभराउका साथ क्वालालम्पुर प्रस्थान गरेको हिमालय एयरलाइन्सले जनाएको छ ।

सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनबहादुर शाही, सह(सचिव बुद्धिसागर लामिछाने, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले उडान सेवाको औपचारिक उद्घाटन गरेका थिए । मलेशियन दूूतावासको चार्ज दि एफिअर अहमद फादिल पनि क्वालालम्पुर उडानमा सहभागी थिए । 

उद्घाटन उडानबारे टिप्पणी गर्दै प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने–‘हिमालय एअरलाईन्सले निरन्तर यसको गन्तव्य बढाउँदै छ । हामीलाई विश्वास छ, क्वालालम्पुरको प्रारम्भिक उडानमै शतप्रतिशत भरिभराउ र अग्रिम बुकिङ्गले हामीलाई यस उडान मार्गले सफलता पाउने रुपमा आत्मविश्वास दिलाएको छ ।’

हप्ताको पाँच दिन उडान गर्ने एअरलाईन्सले काठमाण्डौ(क्वालालम्पुर(काठमाण्डौका लागि शुरुवाती टिकटदर रु. २५,३७५(राउण्ड ट्रिप) कायम गरेको छ । उक्त दरमा सरकारी कर समावेश गरिएको छैन । 

उद्घाटनका रुपमा गरिएको प्रारम्भिक उडानका यात्रुहरुलाई अध्यक्ष, उपाध्यक्ष-प्रशासनका साथ-साथै हिमालय एअरलाईन्सका उच्चपदस्थ अधिकारीहरुले स्वागत गरेका थिए । 

“यी दुई शहरहरु जोडिएकोमा हामी गर्व गर्छाै र विश्व समुदायमा यो मार्गलाई सक्षम बनाउन सकेसम्म तप्पर रहनेछौ ।”-कम्पनीका उपाध्यक्षको भनाई थियो । 

एअरलाईन्सले Carnival Travel Sdn Bhd लाई मलेसियाको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।