काठमाण्डौ । हिमालय एअरलाइन्सले धेरै समयदेखि पर्खाइमा रहेको काठमाडौं-ढाका-काठमाडौंको सीधा उडान यही २०७६ साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । 

एअरलाइन्स्ले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज छन् ।

व्यवसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नयाँ उडान तालिका सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

‘नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपालसम्मको पहुँच विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ ।’ एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘एअरलाइन्स्ले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई/आबु धावी, दमामको नियमित उडानसँगै, ढाकाको नयाँ उडानले बांगलादेशीसहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।’  

अर्काे एशियाली मुलुक बांगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा आफूहरु उत्साहित बनेको र यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । उनका अनुसार मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूल बन्दै सेवा प्रवाह गर्नेछ । 

एअरलाइन्सले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा एच नाइन ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । 

त्यसैगरी, एचनाइन ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ । 

दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मको लागि छुट हुनेछ । एअरलाइन्स्ले समयनिष्ठामा उडान सुनिश्चित गर्ने उद्देश्य राखेको छ । 

एअरलाइन्स्ले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ । जसले बांगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।