काठमाण्डौ ।  चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्याको अवसर पारेर नेपाल-चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले बिहीबारदेखि काठमाण्डौ-छोङ्छिङ सीधा उडान सेवा शुरु गरेको छ । छोङ्छिङ जन गणतान्त्रिक चीनको एक मनोरम पर्यटकीय शहर हो ।

नेपालबाट छोङ्छिङ सिधा उडान सेवा भर्ने हिमालय एअरलाइन्स नै पहिलो हवाई सेवा कम्पनी हो । सीधा हवाई सेवा शुरु भएसँगै आगामी दिनमा दुवै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने विश्वास लिइएको छ । 

गत अक्टोबर २०१९ मा काडमाण्डौ-बेइजिङ उडान थालेपछि हिमालय एअरलाइन्सले आक्रामक रुपमा चीनका अन्य शहरहरु गुयाङ, चाङ्सा र सेन्जेनमाएकपछि अर्को गर्दै आफ्नो सेवा अघि बढाइसकेको छ । काठमाण्डौ-छोङ्छिङ सीधा उडानबाट ब्यापारिक भिसामा ओहोरदोहर गर्ने तथा छोटो समय घुम्न हिँंड्ने पर्यटकका लागि नयाँ विकल्प प्रदान गरेको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित एक बिशेष समारोहकाबीच रिबन काटेर नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाण्डौ-छोङ्छिङ सीधा उडानको बिहीबार औपचारिक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ याङची, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनपोखरेललगायतको उपस्थिति थियो ।

काठमाण्डौ-छोङ्छिङ सीधा उडानअन्र्तगत पहिलो विमान एच९ ७८७ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः४० बजे छोङ्छिङ जियाङ्बेइ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमान स्थानीय समयअनुसार दिउँसो १५ः२६ बजे छोङ्छिङ चियाङ्पेइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । 

त्यसैगरी छोङ्छिङ जियाङ्बेइ अन्र्तराष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आजै सोही विमान अपराह्न ५ बजे काठमाण्डौका लागि उड्ने र नेपालको समय अनुसार साँझ ७ः१५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने तय भएको छ । प्रारम्भिक प्रस्थान र दिउँसो उडान र अवतरण हुँदा यात्रुहरुलाई भ्रमणका क्रममा समय ब्यबस्थापन गर्न सहजता महसुस हुनेछ।