काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ । 
 
विश्वमा उपलब्ध पिउनयोग्य तीन प्रतिशत पानीमध्ये नेपालको हिमनदीमा मात्रै एक दशमलव तीन प्रतिशत पानी उपलब्ध छ । देशभित्र उपलब्ध रहेको पानीमध्ये ३० प्रतिशत पानी मूलबाट सोझै पिउनयोग्य रहेको सन्दर्भमा व्यापार घाटा अन्त्यका लागि समेत ‘पानी अर्थतन्त्र’ लाई प्रश्रय दिन लागिएको हो । खानेपानी मन्त्रालयले हिमाली क्षेत्रको पानीलाई विभिन्न ‘ब्राण्ड’ मा उत्पादन गर्दै गुणस्तरीयतामा ध्यान दिई अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने लक्ष्य राखेको छ । मन्त्रालयले विभिन्न २८ वटा हिमनदीको पानी उत्पादन र त्यसलाई बजारीकरण गर्ने लक्ष्यसाथ प्रारम्भिक अध्ययनको काम शुरु गरिसकेको छ । 
 
नेपालमा उपलब्ध विभिन्न जडीबुटी तथा वनस्पतीको स्वादमा अन्तर्राष्ट्रिय बजारमा पानी निर्यात गर्न सके त्यसले व्यापार घाटा घटाउन मात्रै सहयोग गर्ने नभई रोजगारीको अवसर सिर्जना गर्ने विश्वास लिइएको छ । मन्त्रालयले अध्ययनका क्रममा दूधकुण्ड, क्यासाई, इङ्खु, मेरा हिमनदीमा अध्ययन गर्ने भएको छ । यस्तै मनाङका पाङ्गुरी, लाप्चे, पङ्खे, सुती ताललगायत छ हिमनदीमा समेत अध्ययन गर्ने तयारी गरेको छ । 
 
सर्वोच्च शिखर सगरमाथाको पानी भन्ने ‘ब्राण्ड’ स्थापित गर्ने लक्ष्य मन्त्रालयको छ । त्यसका लागि सार्वजनिक निजी साझेदारी ढाँचामा उद्योग स्थापना, अन्तर्राष्ट्रियस्तरको प्रयोगशालाको स्थापना, गुणस्तरमा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय बजारमा पानीको बजार खोज्ने सरकारको तयारी छ । 
 
खानेपानीमन्त्री बीना मगरका अनुसार देशभित्रै प्रभावकारी रुपमा खानेपानी सुविधा उपलब्ध गराउँदै नेपालमा उपलब्ध पानीको अन्तर्राष्ट्रिय बजार खोज्न हरसम्भव सबै प्रकारको उपाय अवलम्बन गर्न लागिएको छ । विशेष गरी साउदी अरब, कतारलगायत खाडी मुलुकले नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी आफ्नो मुलुकमा लैजान इच्छा व्यक्त गरेको छ । 
 
करिब तीन हजार मिटर उचाई माथिका पानीको स्वच्छतालाई लिएर धेरैले चासो व्यक्त गरेको सन्दर्भमा त्यसैलाई वैदेशिक मुद्रा आर्जनको सशक्त माध्यम बनाउन सकिनेमा आफू विश्वस्त रहेको मन्त्री मगरको भनाइ थियो । कतार, साउदी अरबका सरकारका प्रतिनिधिको नेपाल भ्रमण तथा यहाँस्थित ती देशका राजदूतले नेपालको पानीमा लगानीका लागि इच्छा प्रकट गर्दै सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको राजनीतिक नेतृत्वले पनि पानीको निकासी गर्न सकिने विषयलाई बेला मौकामा चासो दिँदै नीतिगत व्यवस्था गर्ने बताइरहेको बेला मन्त्रालयले आज छलफल कार्यक्रम आयोजना गरेको हो । 
 
सरकारको तयारीप्रति नेपाल बोटल वाटर उद्योग सङ्घले पनि चासो व्यक्त गर्दै सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएको छ । सङ्घका अध्यक्ष सुवास भण्डारी पानीको लागि मात्र विशेष निर्यात नीति बनाएर उद्योगी व्यवसायीलाई थप लगानीका लागि अभिप्रेरित भए वैदेशिक मुद्रा आर्जनको सशक्त माध्यम नै पानी बन्न सक्ने बताउनुहुन्छ । 
 
नेपालका पानी परीक्षण गर्न अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्ने, तीन हजार मिटरभन्दा माथि पानी उद्योग स्थापनाका लागि आवश्यक जग्गा, पानीको स्रोतको सरकारले भाडामा दिने व्यवस्था, बजार विस्तारका लागि सरकारीस्तरमा नै पहल गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाइ थियो । 
 
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा हिमनदीको पानी निकासीका लागि अन्तर्राष्ट्रिय बजारलाई विश्वस्त बनाउने गरी योजना र कार्यक्रमको जरुरी रहेको बताउनुहुन्छ । “प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको सो परियोजनाका लागि साझा सोचको जरुरी छ । हामीले बजारलाई विश्वास दिलायौ भने पानी अर्थतन्त्र फस्टाउन सक्छ”–कार्यकारी निर्देशक राणाले भन्नुभयो ।
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालको विशिष्ट ‘ब्राण्ड’ खडा गरेर जानसके नेपालको पानीले विश्व बजारमा बेग्लै स्थान बनाउन सक्ने बताउनुभयो । उहाँले विशेष गरी खाडी मुलुकले नेपालको पानीमा चासो राखेकाले मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण हुने उल्लेख गर्नुभयो । 
 
पूर्वसचिव सुमन शर्मा नेपालमा आयात भइरहेको पानी मात्रै रोक्ने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले  गुणस्तरमा कुनै समस्या नरहेको भन्ने विश्वास दिलाउन सके मात्रै नेपालको  पानी नै बिक्री गरेर पनि व्यापार घाटा घटाउन सकिने बताउनुभयो । 
 
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विष्णु दाहाल पानी पनि व्यापारिक विषय हो भन्ने विषयलाई ख्याल गर्दै तत्काल निर्यातको योजना बनाउनुपर्ने बताउनुहुन्छ । पानीको विषयमा अध्ययन गर्दै आउनु भएकी डा टिसटा प्रसाईं जोशी सगरमाथा क्षेत्रको पानी असाध्यै राम्रो रहेको आफ्नो अध्ययनबाट देखिएको भन्दै सरकारको प्रयासलाई सार्थक बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 
 
मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले नीतिगत रुपमा भइसकेका व्यवस्थामा नै टेकेर पानीमा लगानी तथा निर्यात गर्न सकिने बताउनुभयो । उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्न सक्ने धारणा राख्नुभयो । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुन सक्ने कुरामा कुनै सन्देह नरहेको बताउनुभयो । “पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुन सक्छ, हामी खोजी गर्छौै । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पुरै सुधार्ने छौँ”, सचिव शर्माले भन्नुभयो ।
 
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनीलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भइरहेको जानकारी दिनुभयो । आगामी दुई साताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सहसचिव तेजराज भट्टले सार्वजनिक निजी साझेदारीमा हिमाली क्षेत्रको  पिउने पानीको निर्यात बढाउने विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।