काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडलाई आफ्नै कर्मचारीले समेत नपत्याएका देखिएको छ । 

यो कम्पनीले सर्वसाधारणसँगै कर्मचारीलाई पनि निश्कासन गरेको साधारण सेयर खरीदका लागि कुनै पनि कर्मचारीले आवेदन नदिएका हुन् । 

यसले सर्वसाधारणलाई कम्पनीको सेयर खरीदका लागि आह्वान गर्ने सम्बन्धित निकायहरुले सम्बद्ध कम्पनीकै कर्मचारीलाई सेयर खरीदका लागि लालायित किन गर्न सकेनन् भन्ने जिज्ञासा उठेको छ । 

हिमाल दोलखाको आइपीओको बिहीबार अपरान्ह बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको जमलस्थित मुख्य कार्यालयमा एक समारोहका बीच बाँडफाँड भयो । सोही कार्यक्रममा कर्मचारीका लागि छुट्याइएको कुनै पनि कित्ता खरीदका लागि आवेदन नपरेको जानकारी दिइएको हो । 

बिक्री प्रबन्धकका अनुसार हिमाल दोलखाले आफ्ना कर्मचारीहरुका लागि १ लाख ५३ हजार ४४४ कित्ता सेयर सुरक्षित गरेको थियो । तर, यी कित्ता खरीदका लागि कुनै आवेदन नपरेपछि बाँडफाँड कमिटीको निर्णय बमोजिम रद्ध गरिएको बताइएको छ । 

हिमाल दोलखाको २५ हजार कित्ता सेयर म्युचुअल फण्डहरुले खरीद गरेका छन् भने ७२ हजार २५५ सदर आवेदकलाई ३० लाख ९३ हजार २५० कित्ता सेयर बाँडफाँड गरिएको छ । 

यो कम्पनीले ७६ लाख ४७  हजार २१० कित्ता साधारण सेयर निश्कासन गरेकोमा सर्वसाधारणका लागि ७४ हजार ९३ हजार ७६६ कित्ता छुट्याइएको थियो । सर्वसाधारणबाट खरीद नभएको र कर्मचारीले समेत खरीद नगरेका सबै कित्ता पाँचवटा अण्डरराइटरहरुले सकारेका बताइएको छ ।