काठमाण्डौ । हुन्डई कम्पनीले उबेर कम्पनीसँगको साझेदारीमा उड्ने इलेक्ट्रिक ट्याक्सी निर्माण गर्ने भएको छ ।

हुन्डईले अमेरिकाको लस भेगसमा हालै आयोजित कन्ज्युमर इलेक्ट्रिक शो २०२० मा इलेक्ट्रिक ट्याक्सीको अवधारणा प्रस्तुत गरेको हो । यो एअर ट्याक्सीको अवधारणा नासाको डिजाइनबाट प्रेरित रहेको छ । यसमा पाइलटका साथै अन्य चार यात्रु बस्न मिल्ने बताइएको छ ।

यो ट्याक्सीले एक ट्रिपमा १०० किलोमिटरको दूरी तय गर्नेछ र अधिकतम १ हजारदेखि २ हजार फिटसम्मको उचाइ हासिल गर्नेछ । यसको अधिकतम गति भने २९० किलोमिटर प्रतिघन्टा हुुनेछ ।

हुन्डईले एअर ट्याक्सी उत्पादन गर्नेछ भने उबेरले ट्याक्सीलाई एअर स्पेस सपोर्ट सर्भिस, ग्राउन्ड ट्रान्सपोटेसनदेखि सम्पर्क तथा एरिअल राइड सेयर नेटवर्कको सहायताले कस्टमर इन्टरफेस उपलब्ध गराउनेछ । यो एअर ट्याक्सी पूर्ण रुपमा इलेक्ट्रिक हुनेछ । जसलाई चार्ज गर्न ५ देखि ७ मिनेट समय लाग्नेछ ।

बोइङ सब्सिडियरी यउरोरो फ्लाइट साइन्स यो प्रोजेक्टको सहायक कम्पनीका रुपमा रहनेछ । उबेर र हुन्डई दुवैले उडानका लागि फरक–फरक टाइमलाइन दिएका छन् । उबेरले एअर ट्याक्सीलाई सन् २०२३ भित्रै बजारमा ल्याइ सक्ने जनाइको छ ।

उता हुन्डईले भने एअर ट्याक्सीको सुरुआत सन् २०२८ सम्म सहरी क्षेत्रमा भइसक्ने जनाएको छ ।

उबेरको एअर ट्याक्सीसँग जोडिने हुन्डई पहिलो कार निर्माता कम्पनी हो । उबेरका सञ्चार प्रमुख साराह अब्बाउडका अनुसार उबेरले अन्य आठवटा कार निर्माता कम्पनीसँग पनि एअर ट्याक्सी निमार्णका लागि सहकार्य गरिरहेको छ । उनले सन् २०२३ सम्म व्यावसायिक उडानसमेत सञ्चालन भइसक्ने दाबी गरेका छन् । – एजेन्सी