काठमाण्डौ । क्यानडाको गुइल्फ युनिभर्सिटीका शोधकर्ताहरुले हर्ट अट्याक (हृदयघात) र हर्ट फेलको खतराबाट बचाउन सक्ने औषधिको विकास गरेका छन् ।

शोधकर्ताहरुको दाबी छ कि उनीहरुले विकास गरेको औषधिले हर्ट अट्याकबाट जोगाउनुका साथै अन्य सबै औषधिको आवश्यकता हटाउँछ जुन यसअघि हर्ट अट्याक भएका बिरामीहरुलाई दिइँदै आएको थियो ।

विशेषगरी हर्ट अट्याक भएका बिरामीहरुले उपचारपछि बाँचुन्जेल विभिन्न प्रकारका औषधि सेवन गर्नुपर्ने हुन्छ । अब यो औषधिले भने त्यस्ता तमाम समस्याको हल निकाल्ने शोधकर्ताहरुको दाबी छ ।

यो औषधि हाम्रो शरीरको प्राकृति घडी अर्थात् बडी क्लकका आधारमा काम गर्छ । जसलाई सर्कडियन रिदम पनि भनिन्छ । बडी क्लकमा जिन र प्रोटिन हुन्छ । जसले चौबीसै घन्टा दिन–रात हर्ट रेट र ब्लड प्रेसर नियन्त्रित राख्छन् । बडी क्लकको मेकानिजमले मुटुमा स्वस्थ रगत सञ्चारको कन्ट्रोल गर्छ ।

शोधकर्ता टमी मार्टिनोका अनुसार यो शोध वास्तवमा निकै रोमाञ्चक छ किनकि यो अनुसन्धानबाट पत्ता लागेको औषधिले हर्ट अट्याक ठीक पार्नुका साथै हर्ट फेल हुने खतरा विकासलाई पनि रोक्न सक्छ ।

शोधकर्ताहरुले यो औषधिको नाम एसआर ९०००९ दिएका छन् । यो औषधि अहिले मुसामा प्रयोग भइरहेको छ । यो औषधिको प्रयोगले मुसाको शरीरमा एनएलआरपी ३ इनफ्लेमेसम नामक सेल्युलर सेन्सरको उत्पादन कम भएको छ । यो सेन्सरले मुटुमा रहेका टिस्युजलाई हानी पुर्याउँछ । मुटुका टिस्युजहरु हानी नहुँदा मुटुमा हुने आघात हुँदैन । त्यसैले मुसामा प्रयोग गरिएको यो औषधिले उनीहरुलाई हर्ट अट्याक भएन ।

यसले स्पष्ट पार्छ कि यो औषधिले मुटुमा कुनै किसिमको क्षति पुर्याउँदैन । त्यसैले यो औषधि भविष्यमा मानिसलाई स्वस्थ जीवन जिउन मद्दतगार साबित हुनेछ । –एजेन्सी