प्यारिस क्षेत्रमा रहेको एउटा जेलबाट एकजना कुख्यात गुण्डा नाइके हेलिकप्टर चढेर भागेका छन्।

रिदुअन फइदलाई अत्याधुनिक राइफलसहित आएका तीन जनाले मद्दत गरेका थिए।

दुईजना बन्दुकधारीले धूँवा फाल्ने बम र फलाम काट्ने हतियारको प्रयोग गरी आफ्ना भाइसँग जेलको आगन्तुक कक्षमा कुरा गरिरहेका फइदलाई भगाएका थिए।

जेल परिसरमा रोकिएको हेलिकप्टरलाई तेस्रो बन्दुकधारीले सुरक्षा दिएको थियो।

व्यावसायिक
हेलिकप्टरका पाइलट व्यावसायिक उडान तालिम दिने व्यक्ति हुन् र उनलाई ती बन्दुकधारीहरूले बन्धक बनाएका थिए।

त्यहाँबाट उक्त हेलिकप्टर नजिकैको गोनिसी क्षेत्रमा लगिएको थियो र प्रहरीले त्यसलाई फेला पारेका छन्।

४६ वर्षीय फइदलाई असफल डकैतीको मुद्दामा २५ वर्ष जेल सजाय तोकिएको थियो। उक्त घटनामा एकजना प्रहरी मारिएका छन्। जेल तोडेर उनी भागेको यो दोस्रो घटना हो।

सन् २०१३ मा उनले चारजना गार्डलाई कब्जामा लिएर उनीहरूलाई मानवढाल बनाउँदै कैयौँ ढोकाहरू डाइनामाइट विस्फोट गराएर भागेका थिए।

त्यसबेला उत्तरी फ्रान्सको जेलमा पुर्‍याइएको आधा घण्टामै उनी भाग्न सफल गएका थिए र ६ हप्तासम्म फरार रहे।

उनको खोजीका लागि तीन हजार फ्रान्सेली प्रहरी परिचालित गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै एफएफपी समाचार संस्थाले जनाएको छ।

ती भगौडा बन्दीलाई पक्रन हरसम्भव उपाय भइरहेको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

फ्रान्सकी न्यायमन्त्रीले उक्त जेल तोडेको घटनालाई 'शानदार' भन्दै व्यापक तयारी गरेका कमाण्डोहरूको प्रयोग गरिएको हुनसक्ने बताइन्।

निरीक्षण
उनले ड्रोन जस्ता प्रविधि प्रयोग गरी उक्त जेल परिसरको शुरूमा निरीक्षण गरिएको हुनसक्ने पनि उल्लेख गरिन्।

हेलिकप्टर अवतरण गराइएको जेलभित्रको परिसर हेलिकप्टरलाई पासो थाप्न नसकिने उक्त जेलको एकमात्रै परिसर रहेको थियो।

आइतवार अपरान्ह भएको उक्त घटनामा कोही पनि घाइते नभएको बताइएको छ।

बन्धक बनाइएका पाइलटलाई पछि रिहा गरिएको थियो र आघातबाट पीडित पाइएकाले अस्पताल लगिएको थियो।

हेलिकप्टरबाट ओर्लिएपछि फइद एउटा कारमा चढेर ए वान मोटरवेतर्फ अघि बढेको थियो।

पछि उक्त कार जलेको अवस्थामा प्यारिसको बाहिरी भागमा रहेको एउटा शपिङ सेन्टरको कार पार्किङमा फेला परेको थियो।

आइतवार अपरान्ह नै उनलाई अर्को सेतो भ्यानमा चढाइएको बताइएको छ।

हलिवूड चलचित्रबाट प्रेरित
सन् १९७२ मा जन्मिएका फइद प्यारिसको कुख्यात क्षेत्रमा हुर्किएका थिए।

सन् १९९० को दशकमा फ्रान्सको राजधानीमा उनले सशस्त्र डकैती र फिरौती असुल गर्ने एउटा समूह सञ्चालन गरेका थिए।

उनले आफ्नो जीवनशैली गुण्डा नाइके पात्र भएका हलिवूड सिनेमाबाट प्रेरित भएको बताउने गर्थे।

अमेरिकी निर्माता माइकल म्यानका अपराधसम्बन्धी सनसनीपूर्ण चलचित्रबाट आफू प्रेरित भएको उनले बताउँथे।

सन् १९९५ को आपराधिक समूहको कथा रहेको 'हिट' भन्ने चलचित्रका प्रशंसक रहेका उनले प्यारिस फिल्म फेस्टिभलमा म्यानलाई भेटेर 'तपाईँ मेरो प्राविधिक सल्लाहकार हो' भनेका थिए।

ब्याङ्क डकैतीको सीप सिक्न दर्जनौँ पटक चलचित्रहरू हेरेको उनले दाबी गरेका थिए।

सन् २००९ मा उनले प्यारिसको आपराधिक घटना बढी हुने बाहिरी इलाकामा हुर्कँदाको अनुभव र कानून मिच्नेबारे आफ्नो सिकाइ सम्मिलित किताब प्रकाशमा ल्याएका थिए।

सन् १९९८ मा ब्याङ्क डकैती र चोरीका एउटाभन्दा बढी अभियोगमा पक्राउ परेपछि फइद थुनामा पर्ने र जेलबाट भाग्ने क्रम निरन्तर चलिरहेको छ।

फ्रान्सको जेलबाट हेलिकप्टरमा भाग्ने उनी पहिलो बन्दी होइनन्।

सन् २००१ मा तीनजना सशस्त्र डाँकाहरू दक्षिणी फ्रान्सको एउटा जेलबाट भागेका थिए।

यस्तै प्रवृत्तिबाट अन्तर्राष्ट्रिय लागुऔषध तस्करीको सञ्जाल चलाउने आरोप खेपिरहेका बन्दीहरू पनि त्यसको दुई वर्षपछि भागेका थिए।

-बीबीसीबाट