काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्गसी शिवम् सिमेन्टमा ५ वटा वाणिज्य बैंकले १६ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । 

सोमबार साँझ काठमाडौंको एक होटलमा भएको कार्यक्रममा एनएमबी बैंकको कन्सोर्टियम लिडमा ५ वटा वाणिज्य बैंकले १६ अर्ब ऋण लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो  ।

एनएमबी बैंकसँगै नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, एभरेष्ट बैक र नेपाल एसआइबी बैंकले होङ्गसी शिवम् सिमेन्ट प्रालिलाई पहिलो चरणमा १६ अर्ब ऋण दिने भएका हुन् ।

एनएमबी बैंकले सबैभन्दा धेरै ६ अर्ब ७५ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब, एभरेष्ट बैंकले १ अर्ब २५ करोड र नेपाल एसबिआइ बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन् ।

सात वर्षका लागि गरिएको ऋण सम्झौतामा नेपाली बैंकहरुका लागि  बैंक अफ चाइना र चाइना मिङ्गसेङ्ग बैंकले बैंक सुरक्षण जमानत दिएका छन् । नेपाली बैंकिङ्ग इतिहासमा जलविद्युत आयोजनामै यो अहिलेसम्मकै सबैभन्दा ठूलो कर्जा लगानी सम्बन्धी सम्झौता भएको बैंकरहरुले जनाएका छन् । 

होङ्गसी शिवम् सिमेन्टमा शिवम् सिमेन्टको ३० प्रतिशत लगानी छ भने ७० प्रतिशत चिनीयाँ लगानी छ । जसमा शिवम् सिमेन्टको ११ अर्ब ४ करोड रुपैयाँ तथा होङ्सी सिमेन्टको २५ अर्ब हिस्सा रहने बताइएको छ ।

होङ्गसी शिवम् सिमेन्टले नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकबाट ९ अर्ब ८२ करोडको एफडिआइ स्वीकृति लिएको छ ।

होङ्गसी सिवम् सिमेन्ट गत मे महिनाबाट संचालनमा आएको हो ।  कारखानाको क्षमता प्रतिदिन ६ हजार टन सिमेन्ट उत्पादन गर्नसक्ने रहेको छ । 

कारखाना आफैँले आवश्यक पर्ने ५० मेगावाट विद्युतमध्ये फोहोर बस्तुको तापबाट १२ मेगावाट उत्पादन गर्ने लिएको बताइएको छ ।