-एकराज पाठक 
काठमाडौं । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका प्रस्थान गरेकैदिन यता चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभयो । 

बेइजिङमा आयोजित चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– उत्तर कोरिया र अमेरिकाले जतिसक्दो चाँडै शान्तिवार्ता गर्दा राम्रो हुनेछ किनभने उनीहरुसँग वार्ता बाहेकको अर्काे विकल्प चीनले अहिलेसम्म देखेको छैन । 

चीनले यसअघि पनि यी दुई देशलाई जतिसक्दो चाँडै वार्तागर्न आग्रह गर्दै आएको थियो । उत्तर कोरियाको परमाणुअस्त्रको होडले यी दुई देशलाई मात्र होइन, विश्वलाई नै तनाव भएकोले अबका दिनमा यस्तो तनाव कमगर्न वार्ता नै चीनको पहिल्यैदेखिको सुझाव हो । 

दक्षिण कोरियाका दुई जना विशेषदूत अमेरिका प्रस्थान गरेलगत्तै यता चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आउनुलाई संयोगमात्रका रुपमा लिन किन सकिएन भने त्यसको भोलिपल्टै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्ताकै स्वीकारोक्तिजस्तै नै प्रतिक्रिया आयो । 

राष्ट्रपति ट्रम्पले त्यसको भोलिपल्टै ट्वीटगर्दै भन्नुभयो— उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्नेछ र त्यो वार्ता केवल औपचारिकतामामात्र सीमित नहुने सम्भावना मैले देखेको छु । उक्त वार्ता अभूतपूर्वरुपमा सफल हुने अर्काे सम्भावना पनि मैले देखेको छु । 

उहाँले भन्नुभयो– हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता सफल हुनेछ र यसले हामीबीचका सबै कुरामा पनि खुलेर कुरागर्ने अवस्था आउने छ । उहाँले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साहित भएको भन्दै यसका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा गर्नुभयो । 

उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएकोले यो वार्ताप्रति उत्साह जागेको उहाँको भनाइ थियो । उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो । तर त्यसको मिति भने निश्चित भएको छैन । 

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र दक्षिण कोरियाको गुप्तचर विभागका प्रमुख दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका जानुभएको थियो । 

उहाँहरुले संयुक्तराज्य अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीका साथै अमेरिकी तत्कालीन विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो । त्यसपछि राष्ट्रपति ट्रम्प किमसँग भेटवार्ताका लागि तयार हुनुभएको समाचारमा जनाइएको छ । 

उहाँहरु त्यसको दुई दिनमात्र अघि उत्तर कोरिया पुगेर नेता किमलाई भेटवार्ता गर्नुभयो । दक्षिण कोरियाली राष्ट्रपतिको विशेषदूतका रुपमा उत्तर कोरिया पुगेर उहाँहरुले दुई कोरियाको वार्ताका लागि प्रस्ताव गर्नुभएको थियो । उत्तरका नेता किमले सो वार्तामा बस्ने सहमति जनाउनुभयो । 
त्यतिमात्र नभएर उहाँसँगै उत्तर कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई समेत भेटवार्ताको लागि प्रस्ताव गर्नुभयो । त्यही आमन्त्रण बोकेर दक्षिणका विशेषदूत अमेरिका पुग्नुभएको थियो । त्यस आमन्त्रणमा उत्तरले वार्ताको वातावरण निर्माणका लागि भन्दै आफूहरुले अणुअस्त्रको उत्पादन र परीक्षणको काम पनि रोक्ने आश्वासन दिनुभएको थियो । 

उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री तथा चिनियाँ र दक्षिण कोरियाली राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको थियो । त्यसपछि मात्र राष्ट्रपति ट्रम्पले नेता उनको आग्रहमा उहाँलाई भेट्न तयार भएको हो । 

त्यसपछि निकै नाटकीय रुपमा विकास भएको अमेरिका उत्तर कोरिया वार्ताको चर्चा चिनियाँ राष्ट्रपति सि चिनफिङको शुभकामनासम्म आइपुगेको छ । यी दुई देशबीच हुने भनिएको वार्ताको सफलताको कामना उहाँले यसैहप्ता गर्नुभएको छ । उहाँले उक्त वार्ताको सफलताको कामनागर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ । 

तिनै दक्षिण कोरियाली विशोषदूतले यसैहप्ता चीनका राष्ट्रपतिलाई भेट्नुभएको छ । सो भेटपछि राष्ट्रपति सिले भन्नुभयो– आसन्न वार्ताबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उपलब्धि हासिल हुनसक्छ, यो अवसरलाई अब दुवै देशले गुमाउनु हुदैन । आगामी दिनमा विश्व शान्तिका लागि पनि उपलब्धिमूलक हुने यस वार्ता सफल होस् र सौहार्दरुपमा सम्पन्न हुन सकोस् भन्ने मेरो कामना छ । 

गएको फेब्रुअरी ९ देखि दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुश गरिएको छ । सुरुमा त्यस ओलम्पिक खेलकूदमा उत्तरको सहभागिता नै हुने नहुने बारेमा नै अन्योल रहेकोमा पछि उत्तरले सक्रिय सहभागिता मात्र नभएर एक खेलमा दुवै देशको संयुक्त सहभागिता, दुवै देशको झण्डाको संयुक्त प्रदर्शनी तथा उत्तर कोरियाका तर्फबाट उच्चस्तरीय सरकारी अधिकारी पठाएबाट दक्षिण कोरियामा उत्साह थपिएको छ । उसले वार्ताका लागि उत्तर कोरियालाई गरेका प्रयासहरु पनि पछिल्लो समयमा सार्थक हुदै आएका छन् । 

अब यसै महिनाको अन्तिममा दुई कोरियाबीच उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको छ । यस तयारीको जानकारी दक्षिण कोरियाका राष्ट्रपति इनका प्रमुख सचिव इम जङ सियोकले शुक्रबार दिनुभएको छ । उहाँले यसका लागि दक्षिण कोरियाले आफ्नो खालको तयारी गरेको र यो उच्चस्तीय बैठकपछि दुई कोरियाबीच अन्तर कोरियाली सम्मेलन गर्ने तयारी भएको भन्नुभएको छ । 

गएका केही वर्षदेखि कोरिया विश्व राजनीतिको केन्द्रमै रहदै आएको छ । पहिले आणविक अस्त्रको उत्पादन र यसको जथाभावी परीक्षणका कारण उत्तर कोरियाको चासो विश्वमा बढी थियो । यसका साथै उत्तरले अमेरिकामा आणविक अस्त्र हान्ने धम्की दिने गरेको थियो भने अमेरिकाले उत्तर कोरियालाई खरानी बनाइदिने बताउँथ्यो । यो आणविक आडको धम्कीपूर्ण चेतावनीले विश्वमा युद्धको त्रास फैलाएको थियो । 

तर पछिल्लो समयमा एक हिसाबले भन्ने हो भने जन्मजात सत्रुका रुपमा रहेका दुई कोरियाबीच विकसित पछिल्लो सम्बन्ध सुधारको आशाले अमेरिकासम्म पु¥याएको छ । उत्तर कोरिया र अमेरिकाबीच पनि दशकौँदेखि सत्रुता रहीआएको छ । यी देशबीच पछिल्लो समयामा वार्ताको टेबलमा बस्ने सम्मको समझदारी बनेको देखिएको छ । यो पछिल्लो वार्ताको आशाले कोरियाली प्रायद्धीपमा मात्र नभएर विश्व शान्तिका लागि सघाउ पुग्ने छ । तर पनि उत्तर कोरियाली हठ र अमेरिकी कूटनीतिलाई विश्लेषण गर्दा भने अझै पनि विश्लेषकहरुले प्रश्न भने उठाइनै रहेका छन्— के अमेरिका र उत्तर कोरियाबीच वार्ता होला ?