काठमाण्डौ । अहिलेसम्म त हामीले कुनै सामान वा मानिसलाई कब्जा वा अपहरण गरेपछि फिरौती माग गरिएका घटना सुनेका र देखाएका छौँ । यदि कसैले तपाइँको फोटोका लागि फिरौती माग गर्यो भने अब आश्चर्य मान्नुपर्ने अवस्था छैन । किनकि आउने दिनमा यस्ता गतिविधि पनि हुन सक्छन् ।

कम्प्युटर र मोबाइल फोनपछि अब ह्याकर्सको नजर तपाइँको क्यामेरामा पर्न थालेको छ । त्यसैले ह्याकर्सले तपाइँको क्यामेरामा खिचिएको तस्बिर वा भिडियो ह्याक गरेर त्यसको बदलामा चाहेजति रकम असुल गर्न सक्छन् ।

विशेषगरी डीएसएलआर क्यामेरा ह्याकर्सको सिकार हुन सक्छन् । सुरक्षा एजेन्सीहरुले चेतावनी दिएका छन् कि डीएसएलआर क्यामेरामा रनसमवेयर र मलवेयर हमला हुन सक्छ ।

साइबर सुरक्षा कम्पनी चेक प्वाइन्ट सफ्टवेर टेक्नोलजिजका शोधकर्ताका अनुसार आधुनिक क्यामेरा यूएसबी र वाईफाईसँग जोडिएका हुन्छन् । यस्तोमा ह्याकर्सले ती क्यामेराबाट डाटामा पूरै कन्ट्रोल गर्न सक्छन् ।

टेक्नोलोजिजका सुरक्षा अधिकारी इयाल इटकिनका अनुसार कुनै पनि स्मार्ट डिभाइस भएका डीएसएलआर क्यामेरा ह्याकर्सका लागि हमला गर्न निकै सजिलो हुन्छ । अनि ह्याकर्सले सजिलै त्यस्ता क्यामेरामा रहेका तस्बिरहरु कब्जामा लिई फिरौती माग्न सक्छन् ।

आधुनिक क्यामेरामा तस्बिरहरु फिल्म (रिल) मा उतारिँदैन । त्यसैले इन्टरनेसनल इमेजिङ इन्डस्ट्री एसोसिएसनले एउटा मानक प्रोटोकल बनाएको छ । जसमा पिक्चर ट्रान्सफर प्रोटोकल (पीटीपी) नाम दिइएको छ । यसले क्यामेरामा रहेका तस्बिर पीसीमा ट्रासफर गर्छ ।

चेक प्वाइन्टले आफ्नो रिसर्चका क्रममा थुप्रै यस्ता ईओएस ८० क्यामेरामा काम गरेको छ र त्यस्ता क्यामेराका कमीकमजोरीबारे उत्पादक कम्पनीलाई जानकारी गराएका छन् ।

ह्याकरको पहुँचबाट बच्नका लागि क्यामेराधनीहरुले आफ्नो क्यामेराको फर्मवेयरमा अपडेट गर्नुपर्छ र यदि प्याच भयो भने त्यसलाई इन्स्टल गर्नुपर्छ । त्यस्तै क्यामेरा प्रयोगमा छैन भने त्यसको वाईफाइ बन्द गर्नुपर्छ । – एजेन्सी