काठमाण्डौ । नेपालमा पछिल्लो समय कार्ड घोटेर अनलाइनबाट सपिङ गर्ने कल्चर विकास हुँदै गइरहेको छ । यहीकारण नेपालमा अनलाइन सपिङको बजार समेत बढिरहेको छ । शहरिया वर्ग अनलाइन सपिङ डेबिट र क्रेडिट कार्डको माध्यमबाट गर्न मन पराउँछन् । अनलाइन खरीदारीको क्रममा कतिपय अवस्थामा कारोबार नै गडबडी हुन्छ, यो सामान्य समस्या हो । तर, सावधानी अपनाइएन भने कार्डबाट अनलाइन किनमेल गर्नेहरु ह्याकरको जालमा फस्न सक्छन्। यसरी फस्दा तपाईको बैंक अकाउण्टको जानकारी तथा कार्डको जानकारी समेत चोरी हुनसक्छ । यस्ता जाल र छलछामबाट बच्न तपाईले सुरक्षित कारोबारको बाटो अपनाउनुपर्छ । यस्तो अवस्थामा केही अत्यावश्यक टिप्स तपाईका लागि पनि काम लाग्नसक्छ । 

१.लेटेस्ट सेक्यूरिटी सफ्टवेयर इन्स्टल गर्नुहोस्
अनलाइन कारोबारको मामलामा धेरै सजग हुन आवश्यक हुन्छ । जुन कम्प्युटर, ल्यापटप वा स्मार्टफोनको माध्यमबाट तपाई सपिङ गर्नुहुँदैछ, त्यो सुरक्षित हुन आवश्यक छ । इन्टरनेटमा मालवेयर, स्पाम वा स्पाईवेयरको बिगबिगी हुन्छ । यी सबैबाट बच्नका लागि बेस्ट प्रोटेक्सन दिने एन्टीभाइरसको प्रयोग गर्नुहोस् । फ्री एन्टीभाइरसले केवल फिसिङ, मालवेयर, वा ट्रोजनबाट मात्र बचाउन सक्छ, पूर्ण सुरक्षाका लागि एन्टीभाइरसको फूल भर्जन खरीद गरी आफ्नो डिभाइसमा इन्स्टल गर्नुपर्छ । 

२.सबै सफ्टवेयरका लागि अटो अपडेट प्रयोग गर्नुहोस्
तपाईको डिभाइसको सिस्टममा जुन एन्टीभाइरस प्रोटेक्सनका लागि इन्स्टल भएको छ, त्यसको अटो अपडेट हुन अत्यावश्यक हुन्छ । यति मात्र होइन, तपाईको डिभाइसको सिस्टमका अन्य सबै खालका सफ्टवेयरको पनि अपडेट भइराख्नु जरुरी हुन्छ । यदि यस्ता सफ्टवेयरमा कुनै खराबी आयो भने तपाईको डिभाइसको सिस्टम ह्याक गर्न ह्याकरलाई निकै सहज हुन्छ । यदि तपाईको डिभाइसमा राखिएको सफ्टवेयरले अटो अपडेटलाई सपोर्ट गर्दैन भने कुनै यस्तो सफ्टवेयर इन्स्टल गर्नुहोस्, जसले अटो अपडेटलाई सपोर्ट गर्न सकोस् । तपाईले चाहनुभयो भने सफ्टवेयरको बेला बेलामा म्यानुअल्ली अपडेट समेत गर्न सक्नुहुन्छ । 

३.एनक्रिप्सनमा दृष्टि लगाउनुहोस्
कुनै पनि वेबसाइटमा आफ्नो कन्फिडेन्सियल डेटा सबमिट गर्नुभन्दा अगाडि सो वेबसाइटले एनक्रिप्सनको प्रयोग गरिरहेको छ या छैन भन्ने जाँच गर्नुहोस् । एनक्रिप्सन त्यो जरुरी चिज हो, जसको माध्यमबाट कुनै पनि डेटाको सुरक्षा गर्न सकिन्छ । यसले नेटवर्कमा काम गरिरहँदा तपाईको डेटा सुरक्षित हुन्छ वा चोर्न खोज्नेको प्रयासलाई असफल तुल्याइदिन्छ । कुनै वेबसाइट एनक्रिप्टेड छ या छैन भनेर थाहा पाउने सजिलो तरिका यस्तो छ:
यूआरएल चेक गर्नुहोस । यदि यूआरएलमा एचटिटिपीएस छ भने त्यो वेबसाइट एनक्रिप्टेड हो भनेर बुझ्नुपर्छ। किनभने एचटिटिपीमा एसको अर्थ हो सेक्युरिटी । यदि यूआरएलको दायाँतर्फ बन्द तालाको संकेत छ भने त्यो वेबसाइट निकै सुरक्षित हो भनेर बुझ्नुपर्छ । 

४.अलग अलग पासवर्डको प्रयोग गर्नुहोस्
एक अध्ययनबाट यो कुरा पत्ता लागेको छ कि अनलाइन खरीदारी वा कारोबार गर्ने मानिसहरु अक्सर कारोबारका लागि निकै सहज पासवर्डको प्रयोग गर्ने गर्छन् । यस्तो गर्नु हुँदैन । यदि कुनै ह्याकरले तपाईको एउटा पासवर्डको एक्सेस प्राप्त गर्यो भने उसले तपाईको सबै अकाउण्टसम्म पहुँच बनाउनसक्छ । किनभने तपाईले प्रत्येक ठाउँमा एउटै पासवर्ड राख्नुुभएको हुन्छ । यो भर्चूअल संसारमा आफूलाई सुरक्षित बनाउनका लागि प्रत्येक कारोबारका लागि अलग अलग पासवर्ड प्रयोग गर्नुहोस् । 

५.क्यास अन डेलिभरी अप्सन
कुनै वेबसाइटले तपाईलाई क्यास अन डेलिभरीको अप्सन दिन्छ भने यो राम्रो कुरा हो । यसको फाइदा यो हुन्छ कि तपाईले अनलाइन पेमेन्ट गर्नुपर्दैन । यसबाट तपाईको अकाउण्टसँग सम्बन्धित जानकारी ह्याक हुने खतरा बिल्कुलै कम हुन्छ । धेरै मानिसहरु क्यास अन डेलिभरीको विकल्प दिंदैनन्, किनभने यसमा केही भेरिफिकेसनको सामना गर्नुपर्ने हुन्छ । तर, सुरक्षित रहनका लागि यो विकल्प जरुरी हुन्छ । 

६.अफर्ससँग डिल गर्ने
तपाईलाई विभिन्न अफरहरुमा लोभ्याउने खालका मेलहरु आइरहेका हुनसक्छन् । यस्ता मेलहरुले कुपन वा यस्तै प्रकारका कैयन अफरहरु दिन्छन् । यस्ता कुपन प्रयोग गरेर तपाईले डिस्काउण्ट पनि पाउन सक्नुहोला । यस्तो अवस्थामा तपाईले सिधैं रिटेलरको वेबसाइटमै गएर आफूसँग सम्बन्धित जानकारी राख्ने प्रयास गर्नुहोस् । कुनै कुपन वा अफरको लिंक खोलेर त्यहाँ आफ्नो विषयमा जानकारी दिनु तपाईका लागि असुरक्षित हुनसक्छ । 

७.वेबसाइटको डिजिटल सर्टिफिकेट जाँच गर्नुहोस्
कुनै पनि रिटेलर वा मर्चेन्ट वेबसाइटमा अनलाइन कारोबार गर्नुभन्दा पहिला त्यो वेबसाइटको डिजिटल सर्टिफिकेट अवश्य जाँच गर्नुहोस् । एक वेबसाइटको डिजिटल सर्टिफिकेटले त्यो वेबसाइटको बैधानिकता दर्शाउँछ । 

८.पब्लिक कम्प्युटर प्रयोगबाट टाढै बस्नुहोस्
इन्टरनेटमा कुनै पनि खालको आर्थिक कारोबार वा भुक्तानी गर्नका लागि आफनो व्यक्तिगत कम्प्युटर वा कुनै विद्यूतीय ग्याजेट(जस्तै फोन वा ट्याब्लेट) प्रयोग गर्नुहोस् । कुनै पनि बेला पब्लिक कम्प्युटर वा कुनै साथीको मोवाइल कुनै पनि आर्थिक कारोबारका लागि प्रयोग नगर्नुहोस् । यति मात्र होइन, यदि तपाईले वाइफाई प्रयोग गरिरहनुुभएको छ भने त्यो वाइफाईको पासवर्ड प्रोटेक्टेड छ या छैन जाँच गर्नुहोस् । कुनै पनि पब्लिक वाइफाइमा कनेक्ट भएर अनलाइन आर्थिक कारोबार नगर्नुहोस् । 

९.कन्फिडेन्सियल जानकारी चोर्ने फिसिङ इमेलबाट बच्नुहोस्
तपाईको बैंक वा कुनै थर्ड पार्टीद्वारा गरिएको कुनै पनि प्रकारको प्रमोसनल मेलबाट जोगिनुहोस् । यस्ता मेलमार्फत तपाईका संवेदनशील सूचना मागिएको हुन्छ । किनभने पछिल्लो समय धेरै मानिसहरुले यस्तो मेलको फन्दा परेर आफ्नो पैसा गुमाइरहेका छन् । तपाईले यो बुुझ्नुपर्ने हुन्छ कि कुनै पनि बैंकले तपाईलाई इमेलमार्फत तपाईका संवेदनशील सूचना माग्दैन । 

१०.ब्राण्डेड मर्चेन्टबाट मात्र खरीदारी गर्नुहोस्
अनलाइन कारोबार वा खरीदारी गर्दा तपाईले ब्राण्डेड मर्चेन्टबाट खरीद गरिरहेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुहोस् । नेपालमै पनि कैयन साना भेण्डरहरु धेरै नै कम सुरक्षाको साथ बजारमा संचालन भइरहेका छन्, यस्ता प्लेटफर्मबाट कारोबार वा किनमेल गर्नुको अर्थ हुन्छ तपाईका संवेदनशील सूचना जानी जानी खतरामा पार्नु । मर्चेन्टको प्राइभेसी पोलिसीलाई समेत ध्यानमा राख्नुहोस् । कतिपय अवस्थामा कम्पनीहरुले तपाईको व्यक्तिगत जानकारी अर्को मार्केटिङ वा रिसर्च कम्पनीसँग सेयर गर्ने पोलिसी बनाउने गर्छन्, जसको विषयमा तपाईलाई जानकारी नगराइएको हुनसक्छ ।