अमेरिकी राष्ट्रपति बराक ओबामाले नयाँ राष्ट्रपति पदमा भर्खरै निर्वाचित डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेटेका छन्।

मंगलबार भएको चुनावमा अप्रत्याशितरुपमा विजयी भएपछि ट्रम्पको पहिलो पटक राष्ट्रपति ओबामासंग भेट भएको हो।

यसअघि मंगलबार राती नै ओबामाले ट्रम्पलाई फोन गरेर बधाई दिएका थिए।
दुबै बीच सत्ता हस्तान्तरण लगायतका विषयमा वार्ता भएको थियो।

राष्ट्रपति ओबामाले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसंग घरेलु, विदेश नीति लगायत व्यापक विषयहरुमा छलफल भएको बताए।

उनले भने, "हाम्रो राष्ट्रसामु रहेका धेरै चुनौतीहरुसंग जुध्न हामी सँगै आउन र सँगै काम गर्न महत्वपूर्ण छ।"

ट्रम्पले शुरुमा छोटो समयकालागि भनिएको भएता पनि आफुहरुबीच झण्डै डेढ घन्टा कुराकानी भएको बताए।

उनले आफुहरुले यसअघि कहिल्यै नभेटेको भन्दै आउँदा दिनहरुमा कैयौं पटक भेट हुने आशा पनि व्यक्त गरे।

उनले विभिन्न विषयमा कुराकानी भएको पनि जनाए।

आफ्नी श्रीमती मेलानीलाई लिएर ट्रम्प बिहीबार ह्वाइट हाउस गएका थिए।

मेलानीले अमेरिकी प्रथम महिला मिशेल ओबामालाई भेटेकी थिइन्।

ह्वाइट हाउसमा रहेका बीबीसीका एकजना संवाददाताले ओबामा तथा ट्रम्पको 'बडी ल्याङ्ग्वेज' हेर्दा उनीहरुबीच शत्रुता रहेको जस्तो नदेखिएको बताए।

ट्रम्पको जीतसंगै राष्ट्रपति ओबामाले गएको आठ वर्षसम्म गरेका धेरै कामहरुको भविष्य अनिश्चित बन्न पुगेको छ

दुबैजनाले कुर्सीमा बसेरै संवाददाताहरुसंग कुराकानी गरेका थिए।

चुनावी अभियानका क्रममा ट्रम्पले राष्ट्रपति ओबामाका कैयौं चर्चित नीतिहरु उल्टयाइदिने बताएका थिए।

आउँदो जनवरी महिनाको पहिलो सातादेखि मात्रै ट्रम्पले नयाँ जिम्मेवारी संहाल्नेछन्।

ओाबामाले आफ्नो सचिवालयलाई नयाँ रिपब्लिकन प्रशासनलाई सफल सत्ता 
हस्तान्तरण गर्न संभवभएसम्मको बल लगाएर काम गर्न भनेको बताएका छन्।

ओबामाले आफ्नो डेमाक्याट पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनलाई आफ्नो उत्तराधिकारीको रुपमा हेर्न चाहेका थिए।

हिलरीले ओबामा प्रशासनमा विदेश मन्त्रीको रुपमा पनि काम गरेकी थिइन्।
हिलरीको चुनाव प्रचार अभियानमा बोल्दै ओबामाले ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न योग्य नरहेको बताएका थिए।

उता ट्रम्पले आफु राष्ट्रपतिमा चुनिए 'ओबामाकेयर' पनि भनिने ओबामाले ल्याएको स्वास्थ्य बीमा नीति लगायत अरु सन्ध‌ि, संझौताहरुलाई उल्टाइदिने घोषणा गरेका थिए।

विश्लेषकहरु भन्छन्, ट्रम्पको जीतसंगै राष्ट्रपति ओबामाले गएको आठ वर्षसम्म गरेका धेरै कामहरुको भविष्य अनिश्चित बन्न पुगेको छ।

दुबै प्रतिद्वन्द्वी दलहरुबीच आउँदा दिनहरुमा अरु बढी कटुता र तनाव बढ्न सक्ने पनि कतिपयको आँकलन छ।

-बीबीसीबाट