काठमाण्डौ । हरियो सागसब्जी तथा केही फलफूलको मूल्य ह्वात्तै घटेको छ । मूल्य घट्दा लकडाउनको बेला दैनिक कमाई नहुनेहरु तथा कम कमाई हुनेहरुलाई समेत छाक टार्न केही राहात भएको छ ।

अगस्ट १ को तुलनामा अगस्ट १३(बिहीबार)को मूल्य तुलना गर्दा अधिकांश सागसब्जीको मूल्य घटेको पाइएको हो । 

सागसब्जीको मूल्यमा ७६ प्रतिशतसम्मको गिरावट देखिएको छ । 

अगस्टको सुरुवातको बेला हरियो सागसब्जीको मूल्य एकाएक आकाशिएको थियो । देशभर आएको बाढीपहिरोका कारण विभिन्न राजमार्ग क्षेत्र अवरुद्ध भएका थिए । जसका कारण बाहिरबाट उपत्यकाभित्र सागसब्जी आउने क्रम केही रोकिएको थियो । त्यसबेला आपूर्ति कम भएको भन्दै सागसब्जीको मूल्य एकाएक बढाएर अचाक्ली पारिएको थियो । 

दुई साताअघि लडकाउन समेत केही खुकुलो भएको र होटलहरु समेत संचालन भएपछि त्यहाँ माग बढ्दा समेत सागसब्जीको मूल्य बढ्न पुगेको व्यवसायीहरु बताउँछन् । तर, पछिल्लो समय अवरुद्ध राजमार्ग पनि खुलेका, लकडाउन समेत कडा बन्दै होटल तथा रेष्टुराँ समेत पुनः बन्द भएपछि दैनिक माग ह्वात्तै घटेका कारण सागसब्जीको मूल्य सस्तिन पुगेको तरकारी व्यापारीहरुले बताएका छन् । 

कोरोनाको संक्रमणको दर बढ्दै गएमा र लकडाउन अझै कडा भइराखेमा सागसब्जीको भाउ अझै घट्ने व्यापारीहरु बताउँछन् । 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १३ दिनमा भान्सामा प्राय प्रयोग हुने अधिकांश सागसब्जीको मूल्य ह्वात्तै घटेको छ । 

कुन कति भयो ?
यो अवधिमा हरियो धनियाको मूल्यमा ठूलो गिरावट आएको छ । अगस्ट १ मा प्रतिकिलो ३९५ रुपैयाँ रहेको धनियाँको थोक मूल्य हाल ९५ रुपैयाँमा सीमित बन्न पुगेको छ । 

घिरौलाको थोक मूल्य प्रतिकेजी ७२ रुपैयाँबाट घटेर १८ रुपैयाँ कायम भएको छ । तिते करेला ५५ बाट रु. २८ मा झरेको छ भने बोडी ९५ बाट ६०, गोलभेंडा सानो(टनेल) ६० बाट ३३, गोलभेंडा सानो ४२ बाट २८, परवर(लोकल) ९८ बाट ६८, चिचिण्डो ४८ बाट ३८, झिगुनी ५५ बाट रु. ३८ मा झरेको छ । 

यसैगरी, अगस्ट १ मा ६५ रुपैयाँ थोक मूल्य भएको हरियो फर्सी ५५ रुपैयाँमा सीमित बन्न पुगेको छ भने भिण्डी ७८ बाट ५५, स्कूस ६५ बाट ४२, रायो साग ८५ बाट ७५, पालुंगा तथा चमसुरको साग पनि ८५ बाट ७५ रुपैयाँ, गान्टे मूला ८५ बाट ७५, काक्रो लोकल ४५ बाट ३३, लसून सुकेको(नेपाली) १५५ बाट १३५, लसून सुकेको चाइनिज १९५ बाट १७५ मा झरेको छ । 

नासपति लोकलको मूल्य प्रतिकेजी ५५ रुपैयाँबाट ३३ रुपैयाँमा झरेको छ भने भूइँकटहर प्रतिगोटा १०५ बाट ९५ मा सीमित बन्न पुगेको छ । अनार प्रतिकेजी १८५ रुपैयाँबाट घटेर १५५ रुपैयाँ कायम भएको बताइएको छ ।