काठमाण्डौ । बजारमा आएका ऋणपत्रको तुलनामा केही थोरै ब्याजदर रहे पनि  हिमालयन बैंकको ऋणपत्र करिब ७० प्रतिशत बिक्री भइसकेको छ । 

ऋणपत्र खरीदका लागि आवेदन दिने समय ५ दिन मात्रै बाँकी छँदा यो बैंकको ऋणपत्र करिब ७० प्रतिशत बिक्री भइसकेको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ । 

यो बैंकले साउन २ गतेदेखि निश्कासन गरेको ऋणपत्रमा पब्लिक र प्राइभेट प्लेसमेन्ट दुवैतर्फ करिब ७० प्रतिशत युनिट खरीदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ ।  

लक्ष्मी क्यापिटलका अनुसार आइतबारसम्ममा हिमालयन बैंकको २ अर्ब रुपैयाँ भन्दा बढीको ऋणपत्र बिक्री भइसकेको छ । 

पब्लिकतर्फको युनिट केही कम बिक्री भए पनि प्राइभेट प्लेसमेन्टतर्फको बिक्री भने निकै उत्साहप्रद रहेको बताइएको छ । 

बैंकको ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याज पाइन्छ । यो बैंकसँगै बजारमा आएका अन्य बैंकका ऋणपत्रमा भने १०.२५ प्रतिशत ब्याज पाइन्छ । ०.२५ प्रतिशतको ब्याज अन्तर रहे पनि हिमालयन बैंकको ब्राण्डका कारण ऋणपत्रका सबै युनिट बिक्री नजिक रहेको क्यापिटलको दाबी छ। 

यो कम्पनीको ऋणपत्र खरीदका लागि साउन ३१ गतेभित्र आवेदन दिन सकिनेछ । 

नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र निश्कास गर्नुपर्ने व्यवस्था ल्याएको छ । राष्ट्रबैंकले ऋणपत्रमा जोड दिइरहँदा बैंकहरुबाट निश्कासित यस्ता लगानीका उपकरणहरुमा लगानीकर्ताको आकर्षण भने खासै देखिन सकेको छैन । 

हिमालयन बैंकले १००० प्रति युनिटका दरले ३० लाख युनिट ऋणपत्र निश्कासन गरेको हो । कुल रु. ३ अर्बको ऋणपत्र निश्कासन गरेकोमा १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि अफर गरिएको छ । बाँकी १ अर्ब ८० करोड भने प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री हुनेछ । 

इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम सीमासम्मका लागि आवेदन दिन सकिने बताइएको छ । 

यसअघि हिमालयन बैंकले वार्षिक ८ प्रतिशत ब्याज पाउने गरी ६० करोडको ‘८ % हिमालयन बैंक डिवेञ्चर–२०७७’ बिक्री गरेको थियो ।

*यसअघिको समाचारमा भूलवश केही तथ्य फरक पर्न गएकोमा क्षमाप्रार्थी छौं ।
-सम्पादक