काठमाण्डौ । अबदेखि नेपालमा १०० भन्दा बढीको भारु नोट चलनचल्तीमा ल्याए त्यो अबैध हुने भएको छ । 

यस्तै, नेपाली नागरिकले भारु बोकेर भारत बाहेकका देशमा लैजानु र त्यस्तो देशबाट भारु बोकेर नेपाल ल्याउनु पनि गैरकानूनी हुनेछ । 

नेपाल राष्ट्रबैंकले आइतबार सर्वसाधारणको नाममा एक सूचना जारी गर्दै यो विषयमा प्रष्ट पारेको हो । 

केही साताअघि मन्त्रीपरिषद बैठकले भारु २००, ५०० र २००० को नोटलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसले सीमा क्षेत्रका सर्वसाधारणमा अन्यौल बढाएको थियो । सीमा क्षेत्रमा कारोबार वा व्यापार व्यवसाय गर्दा अप्ठ्यारो पर्यो भन्दै सर्वसाधारणबाट गुनासाहरु आएका थिए ।

तिनै गुनासाका आधारमा अर्थमन्त्रालयको निर्देशनमा नेपाल राष्ट्रबैंक(एनआरबी)ले भारतको केन्द्रीय बैंक, रिजर्ब बैंक अफ इण्डिया(आरबीआई)लाई पत्र लेख्दै ठूला दरका भारु नोट चलाउने स्वीकृति मागेको थियो । तर, आरबीआईले एनआरबीको सो अनुरोधलाई वास्ता नगरेपछि आइतबार भारु १०० माथिका नोट चलाउन प्रतिबन्ध लागेको बताइएको हो । 

नेपाल राष्ट्रबैंकले आइतबारदेखि नै १०० भन्दा माथिका भारु नोट नचलाउन समेत आग्रह गरेको छ । 

भारतको सत्ता नरेन्द्र मोदीले सम्हालेपछि पूर्व तयारीबिना नै कालोधन निकाल्ने भन्दै उनले ५०० र १००० दरका भारु नोटमाथि प्रतिबन्ध लगाएका थिए ।

त्यो प्रतिबन्धले नेपालमा रहेका समेत धेरै भारु नोट कागजको खोस्टामा परिणत भएका थिए । नेपाल सरकार र नेपाल राष्ट्रबैंकले निरन्तर प्रयास गर्दा समेत नेपालमा चलनचल्तीमा रहेका भारु १००० र ५०० को नोट साट्न भारतीय पक्ष तयार भएन । नेपालमा रहेका त्यस्ता भारुका नोट अझै साटिएका छैनन् ।  

भारतले ठूला नोट साट्न असहयोग गरेपछि नेपालले ठूला भनिएका र हाल भारतमा चलनचल्तीमा रहेका २००, ५०० र २००० को नोट समेत नेपालमा चलाउन नपाउने निर्णय गरेको थियो । सरकारको त्यही नीतिलाई कार्यान्वयन गर्दै राष्ट्रबैंकले भारु २००, ५०० र २००० का नोटहरु साथमा राख्न, ओसारपोसार गर्न र कारोबारमा प्रयोग गर्न नपाउने व्यवस्था गरेको हो । 

तर, भारु १०० र सोभन्दा कम दरका भारतीय नोट तथा मुद्रा प्रचलित व्यवस्था बमोजिम ल्याउन लैजान र सटही गर्न सकिनेछ । 

केन्द्रीय बैंकले नेपाली नागरिकले भारतीय रुपैयाँ भारत बाहेक अन्य मुलुकमा लैजान र अन्य मुलुकबाट नेपाल ल्याउन समेत रोक लगाएको छ ।