काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपीओको प्रिमियम बापत प्राप्त रकमको समेत प्रयोग गरी बिनाझञ्झट सेयरधनीलाई उच्च बोनस दिएर तोकिएको चुक्तापूँजी पुर्याउने भएको छ । 

स्ट्याण्डर्ड चार्टर्ड समूहको लगानी रहेको यो बैंकले अन्य बैंकले झै हकप्रदको बाटो रोजेर सेयरधनीलाई पैसाको जोहो गर्ने तनाव थोपरेन । बरु, आफ्नो पैसा र शक्तिको उच्चतम प्रयोग गर्दै महंगो मूल्यमा एफपीओ निश्कासन गर्यो र त्यसको बिक्रीबापत प्राप्त नेपालीहरुकै रकमलाई समेत जोडी उच्चतम बोनस बाँडी राष्ट्रबैंकले तोकेको ८ अर्ब चुक्तापूँजी पुर्याउने जमर्को गरेको हो । यो बैंकले निकै लामो समयसम्म राष्ट्रबैंकको चुक्तापूँजी वृद्धिको योजनाको विरोध गर्दै आइरहेको थियो । उसले यो निर्णय फिर्ता नलिए नेपाल छाड्नेसम्मको चेतावनी दिएको थियो । 

हकप्रद निश्कासन गरेर चुक्तापूँजी पुर्याउने बाटो रोजेको भए यो बैंकमा मेजर सेयर होल्डरको रुपमा रहेका विदेशीहरुले ठूलो रकम लगानी गर्नुपर्ने हुन्थ्यो । तर आफ्नो एक पैसा खर्च नगरी नेपालीहरुबाटै एफपीओको नाममा राम्रो प्रिमियम संकलन गरी त्यसैलाई परिचालन गरी यो बैंकका संस्थापक मालामाल बन्ने भएका हुन् । 

यो बैंकमा सेयर हुने वा सेयर खरीद गर्नेहरु समेत मालामाल हुने देखिन्छन् । कारण, यो बैंकले चालुु आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई बढीमा १ सय प्रतिशतसम्म बोनस घोषणा गर्दैछ । सतप्रतिशत बोनस घोषणा गरेपछि यो बैंकको ८ अर्ब पूँजी सजिलै पुुग्नेछ । 

यो बैंकले हालै ३ अर्ब ३० करोड रुपैयाँको एफपीओ बिक्री गरेको थियो । यो बैंकले १ सय रुपैयाँ अंकित दरको सेयरमा ११९० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२९० रुपैयाँका दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गरेको थियो । 

स्ट्याण्डर्ड चार्टर्डले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस वितरण गरेको छ । बित्तीय अवस्था राम्रो हुँदा हुँदै पनि लगानीकर्तालाई बोनस वितरणमा कञ्जुस्याई गरेको भनेर आलोचित यो बैंकले एफपीओबाट लगानीकर्तालाई मालामाल बनाउने रणनीति लिएको देखिन्छ । 

बोनस सेयरपछि यो बैंकको चुक्तापूँजी ३ अर्ब ७५ करोड रुपैयाँको उचाईमा पुुगेको छ । एकसय रुपैयाँ अंकित दरको एफपीओको रकम थपिएर चुक्तापूँजी ४ अर्बको हाराहारीमा पुुग्नेछ । 

बैंकका अनुसार एफपीओबाट प्रति कित्ता ११९० को दरले संकलन भएको प्रिमियम रकम आर्थिक वर्ष २०७३/७४ को बोनस बाँड्न प्रयोग गरिनेछ । यसरी हेर्दा ३ अर्ब बढी प्रिमियमबाट संकलन हुने देखिन्छ । र, यति नै रकम बराबरको बोनस आफ्ना सेयरधनीलाई यो बैंकले वितरण गर्नेछ । यो रकम पूँजीकृत भएपछि चुक्तापूँजी ७ अर्ब ५ करोड पुुग्नेछ । चालुु आर्थिक वर्षको नाफा समेत उसको राम्रै छ । त्यसबाट थप बोनस आउँदा सबै मिलाएर यो बैंकले १०० प्रतिशत बोनस दिनुपर्ने हुन्छ । बैंकको रणनीति समेत सेयरधनीलाई १ सय प्रतिशत बोनस दिएरै ८ अर्ब चुक्तापूँजी पुर्याउने देखिन्छ । 

सेयरमा हारालुछ
आर्थिक वर्षको समाप्त हुन एक महिना बाँकी छँदा आकर्षक बोनस पाइने लोभमा लगानीकर्ताहरुले दोश्रो बजारमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर हारालुछ गरी खरीद गरिरहेका छन् । उच्च बोनसकै लोभमा फसेका लगानीकर्ताहरुको यही आकर्षणका कारण विगत केही दिनदेखि यो बैंकले हरेक दिन सबैभन्दा बढी कारोबार गरिरहेको छ । बुधबार यो बैंकको ९ करोड ४१ लाख बढीको कारोबार भयो । मंगलबार पनि ६ करोड ८२ लाखको कारोबार गरेको यो बैंकले सोमबार ६ करोड २ लाख बढीको कारोबार गर्यो । बिहीबार दिउँसो १ः३० बजेसम्म पनि स्ट्याण्डर्ड चार्टर्डले नै सबैभन्दा बढी कारोबार गरेको छ । यो समयसम्म यो बैंकको १ करोड ८६ लाख बढीको सेयर कारोबार भइसकेको छ । 

जानकारहरुका अनुसार ‘स्ट्याण्डर्ड चार्टर्डले राम्रो बोनस दिन्छ’ भन्ने हल्ला पत्याएका लगानीकर्ताले यसको सेयर धमाधम खरीद गरिरहेका छन् । यो बैंकको एफपीओमा आवेदन दिएका, तर सेयर नपरेका कारण घाटा व्यहोरेकाहरुले पनि अहिले खोजी–खोजी दोश्रो बजारबाट सेयर उठाइरहेका छन् । ‘अहिलेको बजार स्थिर छ, यस्तो बेलामा खरीद गर्दा भोलि सानो सकारात्मक कुराले समेत स्ट्याण्डर्डको मूल्य बढ्ने आशामा लगानी गर्नेहरु समेत भेटिएका छन् ।’ एक ब्रोकरले भने–‘कतिपयले अहिले नै यो बैंकको सेयर किनेर राख्ने र केही समयपछि घोषणा हुने बोनस सुरक्षित गर्ने रणनीति समेत लिएका छन् ।’