काठमाण्डौ । बैंक तथा बित्तीय संस्थामा देखिएको तरलता समस्या केही जटिल बनेको विश्लेषणसहित शुक्रबार नेपाल राष्ट्रबैंकले थप १० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ । 

केन्द्रीय बैंकले पुसमा ३५ अर्ब बराबरको सरकारको विकास ऋणपत्र खरीदका लागि बोलकबोलको सूचना जारी गरेपछि २९ अर्बका लागि मात्र बैंकहरुले आवेदन दिएका थिए । त्यसपछि प्रणालीमा ५१ अर्ब अधिक तरलता रहेको भन्दै चूप बसेको केन्द्रीय बैंकले अवस्था केही  जटिल भएको केही बैंकहरुको गुनासोको आधारमा माघ महिनामा पहिलोपटक १० अर्बको ऋणपत्र सोझै खरीद गरिदिने प्रस्ताव गरेको हो । 

यो रकम बजारमा गएपछि ब्याजदरमा स्थिरता आउने र बजारको आत्मबल बढ्ने अपेक्षा गरिएको केन्द्रीय बैंकका अधिकारीहरुले दाबी गरेका छन् ।

बैंक तथा बित्तीय संस्थाका सीइओहरुले भने ऋणपत्रमार्फत रकम प्रवाह गरेर मात्र समस्याको दीर्घकालीन समाधान नहुने बताउँछन्। उनीहरु कर्जा पुँजी निक्षेपको अनुपात सीसीडीसम्बन्धी विद्यमान व्यवस्थामा नै परिवर्तनको माग गरिरहेका छन्। एक बैंकरले भने–‘हामीले खोजेको लगानीयोग्य तरलता हो ।’