काठमाण्डौ । गणतन्त्रको स्थापनापछि १० औं प्रधानमन्त्रीको रुपमा कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । 

प्रधानमन्त्रीको कुर्सीमा उनको यो यात्रा चौथो पटकको हो । यसअघि तीनपटकसम्म प्रधानमन्त्रीको कुर्सीमा पुगिसकेका उनका अधिकांश कार्यकाल खासै उपलब्धिमूलक रहेन । अधिकांश कार्यकालमा उनी भ्रष्टाचारका ठूला ठूला काण्डमा मुछिए । तर, गणतन्त्र आएपछि पहिलोपटक प्रधानमन्त्री हुँदै गरेका उनका अगाडि धेरै चुनौति छन् । दोश्रो चरणको स्थानीय निर्वाचन गराउने, मधेशवादीहरुलाई सहमतिमा ल्याएर संविधान संसोधनको वातावरण बनाउने, प्रदेश र संघीय संसदको चुनाव गराउने मुख्य रुपमा उनका चुनौति हुन् । 

एकातिर प्रधानमन्त्रीको रुपमा देउवा १२ वर्षपछि सिंहदरबार प्रवेश गर्दैछन् भने यही बेला गणतन्त्रपछिका उपलब्धिहरुको समीक्षा भइरहेको छ । देउवासहित गणतन्त्र आएपछि प्रधानमन्त्री बन्नेको संख्या १० पुुगिसकेको छ । १० वर्षको अवधिमा १० प्रधानमन्त्री निर्वाचित गरेर नेपालले विश्वलाई अचम्भित बनाइदिएको छ । विश्वका कुनै पनि मुलुक सायद यस्ता छैनन्, जसले १० वर्षमा १० प्रधानमन्त्री चुनेका हुन्, यति छोटो समयमै यसरी सरकार परिवर्तन भएको होस् । 

नयाँ संविधानको कार्यान्वयनको सुरुवात त भएको छ, तर यो टुंगोमा पुुग्ने हो या होइन धेरै शंका, आशंकाहरु बाँकी नै छन् । १० जना प्रधानमन्त्री हुँदा तिनका परिवार वा आफन्त कति मालामाल भए, त्यो उनीहरुले जान्ने कुरा हो । तर जनताको जीवनस्तर खासै सुध्रिएको छैन, गरीब र विपन्नको अवस्था ज्यूँका त्यूँ छ । 

यो अवधिमा संक्रमणकाललाई दोष दिएर धेरै सरकारहरु उम्किएका छन् । गणतन्त्रका लागि ज्यानको आहुति दिने शहीद परिवारको अवस्था दयनीय छ । हुँदा हुँदा भूकम्पले पालमुनि पुुगेका सर्वसाधारणहरुले यो झरीयाम समेत रुझ्दै बिताउनुुपर्ने कहालीलाग्दो अवस्था छ । 

गणतन्त्र आयो, १० जना प्रधानमन्त्रीको कुर्सीमा पुुगे, जनताले के पाए ? स्वभाविक रुपमा प्रश्नहरु उठेका छन् । अहिलेलाई यति भन्न सकिन्छः गणतन्त्रको संस्थागत विकासतर्फ लम्किएका पाइला निश्कर्षमा पुुगुुन्, नेताका लागि मात्र होइन, जनताका लागि समेत गणतन्त्र आएको आभास चाँडो भन्दा चाँडो होस् । 

अब हेरौं देउवाभन्दा अगाडि गणतन्त्र आएपछि प्रधानमन्त्रीको कुर्सीमा को–को पुुगेछन् ?
१. ०६३ बैशाख ११–गिरिजाप्रसाद कोइराला
२. ०६५ भदौ २० गते–पुष्पकमल दाहाल
३. ०६६ जेठ ११ गते–माधवकुमार नेपाल
४. ०६७ माघ २३ गते –झलनाथ खनाल
५. ०६८ भदौ १२ गते–डा. बाबुराम भट्टराई
६. ०६९ चैत १ गते–खिलराज रेग्मी
७. ०७० माघ २९ गते–सुशील कोइराला
८. ०७२ असोज २५ गते–केपी ओली
९. ०७३ साउन १९ गते–पुष्पकमल दाहाल
१०. ०७४ जेठ २३ गते –शेरबहादुर देउवा