काठमाण्डौ । नेपाल राष्ट्रबैंकले १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरेज सेवा संचालनको प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको छ । 

योसँगै बैंकहरुले सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सेवा संचालनका लागि नेप्सेमा आवेदन दिनसक्नेछन् । 

केन्द्रीय बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया सहितका १० वाणिज्य बैंकलाई एकसाथ ब्रोकरेज सेवा संचालनका लागि अगाडि बढ्न अनुमति दिएको केन्द्रीय बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिएका छन् । 

उनका अनुसार ब्रोकरेज सेवा संचालनका लागि अनुमति पाउने अन्य वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू लिमीटेड, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंक लिमीटेड रहेका छन् । 

सिभिल बैंकले ब्रोकरेज सेवा संचालनको स्वीकृति पाउने प्रक्रिया सुरु भएको छ भने बाँकी ८ वटा वाणिज्य बैंकले ब्रोकर सेवा संचालनका लागि पहिलो स्वीकृति माग्दै आवेदन दिएका छन् । 

ब्रोकर लाइसेन्स प्राप्तिको बाटोमा अगाडि बढ्ने स्वीकृतिका लागि आवेदन दिने बैंकहरुमा नवील बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमीटेड रहेका छन् । 

यी अन्य बैंकहरुलाई पनि निकट भविष्यमै ब्रोकर लाइसेन्स पाउने प्रक्रिया लागि अगाडि बढ्ने स्वीकृति प्रदान गरिने प्रवक्ता निरौलाले प्रष्ट्याएका छन्। 

केन्द्रीय बैंकले सेयर ब्रोकरेज सेवा संचालन गर्न चाहने बैंकहरुलाई लाइसेन्स लिन आवश्यक प्रक्रिया सुरु गर्नका लागि स्वीकृति दिएको हो । यो स्वीकृतिपछि नै उनीहरुले ब्रोकरेज सेवा सुरु गर्ने भने होइन । यसका लागि अझै केही प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।