काठमाण्डौ । नेपाल अटोमोवाइल डिलर्स एशोसिएसनका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठले बैंक तथा बित्तीय संस्थाहरुले १० प्रतिशत डाउन पेमेन्टमा गाडी खरीदका लागि कर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । 

नाडाको ४१ औं वार्षिक साधारणसभालाई सोमबार राति सोल्टी होटलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । 

‘राष्ट्रबैंक र सरकारका अन्य निकायले अटोमोवाइललाई जसरी अनुत्पादक भनेका छन्, यसमा हाम्रो असहमति छ ।’ श्रेष्ठले भने–‘अटोमोवाइललाई जहिले पनि चुरोट बिँडीसँग तुलना गरिएको हुन्छ, जुन गलत छ ।’ 

उनले बैंकको स्टेटमेन्ट हेर्ने हो भने अटोमोवाइल सबैभन्दा कम डिफल्ट हुने लगानीको क्षेत्र रहेको देखिने उल्लेख गर्दै भने–‘अटोमोवाइलमा गरेको लगानी बैंकलाई समयमै फिर्ता भइरहेको छ । यस्तो सजिलो क्षेत्रमा १० प्रतिशत डाउन  पेमेन्ट र ९० प्रतिशत फाइनान्स हुनुपर्छ ।’

उनले केही महिनाअघि आपूर्ति व्यवस्थापन र उपभोक्ता हित संरक्षण विभागबाट खटिएको अनुुगमन टोलीले अटोमोवाइल व्यवसायीलाई दुःख दिएको भन्दै यो कार्यलाई नीतिगत रुपमै निरुपण गरिदिन कार्यक्रमका प्रमुख अतिथि रहेका अर्थमन्त्रीलाई आग्रह गरे । 

उनले सडकलाई व्यवस्थित बनाउन सडक नीति ल्याउनुपर्ने, सडक दुरुपयोग र सडक क्षति सम्बन्धी कडा कानूनको अवलम्बन हुनुपर्ने, सडकको वर्गीकरण गरी सोही अनुसारका यातायातको साधन मात्र चलाउन पाउने व्यवस्था गरिनुपर्ने, अब बन्ने देशका सबै सडकमा आस्फाल्ट प्रविधिको प्रयोग गरिनुपर्ने माग गरे । देशका सडक मर्मत ठीक तरिकाले नहुँदा ढुवानी लागत बढिरहेको उल्लेख गर्दै उनले सडक जथाभावी भत्काउने र समयमै मर्मत नगर्ने प्रवृति निरुत्साहित हुनुपर्नेमा समेत जोड दिए । 

अटोमोवाइल क्षेत्रले देशको कुल राजश्वमा १७ र कुल कर राजश्वमा २० प्रतिशत योगदान गरेको उल्लेख गर्दै सवारी साधनमा बैंकले ६५ प्रतिशतको क्याप लगाउँदा पछिल्लो समय आयात प्रभावित भई कर राजश्व समेत घटेकोतर्फ चिन्ता व्यक्त गरे । 

उनले आगामी आर्थिक वर्षको बजेटका लागि केही सुुझाव समेत दिएका थिए । श्रेष्ठले आगामी बजेटमार्फत सवारी साधनहरुको उत्पादनमा ५० प्रतिशत अन्तशुल्क महसुल छुट दिने व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका थिए ।