काठमाण्डौ । नेपाल राष्ट्रबैंकले लघुवित्त संस्था स्थापनाका लागि आवेदन लिने कार्य स्थगन गरेको धेरै भयो । यो नीतिका कारण लघुवित्त स्थापना गर्ने मन भएर पनि थन्किएर बसिरहेकाहरुका लागि देशका १० जिल्लामा भने सुवर्ण अवसर छ । कारण, देशका १० वटा यस्ता जिल्ला छन्, जहाँ नेपाल राष्टबैंकले लघुवित्त संस्था स्थापनाको आवेदन अझै लिइरहेको छ । 

नेपाल राष्टबैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै बित्तीय पहुँच कम भएका १० जिल्लामा अझै पनि लघुवित्त संस्था स्थापना गर्न सकिने भन्दै आवेदन दिन सकिने व्यवस्था रहेको प्रष्ट्याएको हो । 

केन्द्रीय बैंकका अनुसार मनाङ, जुम्ला, हुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुलामा अझै पनि लघुवित्त संस्था स्थापनाका लागि आवेदन दिन सकिनेछ । यी १० जिल्लाहरुमा हालसम्म लघुवित्त संस्थाको ३७ शाखाहरु छन् । तर, यी जिल्लाहरुमा प्रधान कार्यालय रहने गरी कुनै पनि लघुवित्त संस्था स्थापना नभएका राष्टबैंकले उल्लेख गरेको छ । 

यस्तै, थप २० वटा माइक्रो फाइनान्स समेत इजाजत पाउने प्रक्रियामा रहेका केन्द्रीय बैंकले प्रष्ट्याएको छ । उसका अनुसार लघुवित्त संस्थाहरुको स्थापनाका लागि हालसम्म प्राप्त भएका निवेदनका सम्बन्धमा केन्द्रीय बैंकबाट वित्तीय कारोबार गर्न सैद्धान्तिक सहमति प्राप्त गरेका र फिट एण्ड प्रोपर टेस्ट सम्पन्न भई अन्तरक्रिया सम्पन्न भइसकेका तथा लघुवित्त संस्थामा परिणत हुन आवेदन दिएका वित्तीय मध्यस्थताको कारोबार गर्ने गैर–सरकारी संस्था गरी थप २० वटालाई इजाजत दिने प्रक्रिया अगाडि बढेको हो ।