काठमाण्डौ । नेपाल बंगलादेश बैंकले आगामी जेठ १० गतेदेखि रु. २ अर्ब बराबरको ऋणपत्र निश्कासन गर्ने भएको छ । 

बैंकले ‘१०.२५ एनबिबिएल डिवेञ्चर–२०८५’ निश्कासन गर्न लागेको हो । 

ऋणपत्र खरीद गर्न इच्छुकले छिटोमा जेठ १४ गतेभित्र र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा असार ८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 
एनबी बैंकले रु. १००० अंकित दरका २० लाख कित्ता ऋणपत्र निश्कासन गर्न लागेको हो । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडले काम गर्नेछ । 

रु. २ अर्ब बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रु. १ अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट(प्राइभेट प्लेसमेन्ट) र ४० प्रतिशत अर्थात रु. ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ । 

दश वर्षे अवधिको ऋणपत्रमा १०.२५ प्रतिशत वार्षिक ब्याज प्रदान गरिनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ऋणपत्र १० वर्षपछि परिपक्व हुनेछ ।

इच्छुकले न्यूनतम २५ देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । 

पछिल्लो समय नेपाल राष्ट्रबैंकले ऋणपत्र निश्कासनलाई प्राथमिकतामा राख्न निर्देशन दिएसँगै वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै ऋणपत्र निश्कासनमा केन्द्रीत हुन थालेका छन् ।