रत्ननगर (चितवन) । चितवन राष्ट्रिय निकुञ्जमा चालु आवको ११ महिनामा ८२ हजार पर्यटक आएका छन् । उनीहरुबाट झन्डै रु १२ करोड राजश्व संकलन भएको निकुञ्जले जनाएको छ । 

सबैभन्दा बढी प्रवेश शुल्कबाट राजश्व संकलन भएकोे निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए  । 

उनका अनुसार गएको साउन महिनादेखि जेठसम्मको तथ्यांकअनुसार निकुञ्जमा ८१ हजार ८१३ जना पर्यटक प्रवेश गरेका छन् । पर्यटकबाट रु ११ करोड ९३ लाख ६७ हजार २७३ राजस्व संकलन भएको छ । 

निकुञ्ज घुम्नेमा ४२ हजार १५१ जना पुरुष र ३९ हजार ६६२ जना महिला पर्यटक रहेका छन् । सबैभन्दा बढी सौराहा क्षेत्रबाट पर्यटक निकुञ्ज प्रवेश गरेको पाइएको ढकालले जानकारी दिए । रु.आठ करोडभन्दा बढी राजस्व प्रवेश शुल्कबाट मात्रै उठेको छ । 

चैत महिनामा सबैभन्दा बढी रु एक करोड ८६ लाख ४४ हजार बढी राजस्व संकलन भएको छ । 
अघिल्लो वर्ष भूकम्पपछिको समयमा निकुञ्जमा पर्यटक शून्य जस्तै भए पनि यो आबमा भने बढेको पाइएको निकुञ्जले जनाएको छ ।